
गत आर्थिक वर्षमा धनकुटामा २३७ वटा उद्योग बन्द भएका छन् भने १३४ वटा नयाँ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष ०८१/८२ मा प्रशासनतर्फ १४१ वटा र वाणिज्यतर्फ ९६ वटा उद्योग बन्द भएका छन् भने प्रशासनतर्फ ९९ वटा र वाणिज्यतर्फ ३५ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयका सूचना अधिकारी अर्जुनबहादुर कार्कीले बताए ।
त्यस्तै, गत आर्थिक वर्षमा प्रशासनतर्फ ६५५ वटा र वाणिज्यतर्फ २९६ वटा उद्योगहरू नवीकरण भएको कार्यालयले जनाएको छ । उक्त उद्योगहरू दर्ता तथा नवीकरणबाट ४१ लाख ६६ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा ३२१ वटा उद्योग दर्ता भएका थिए ।