
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन् ।
मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यकाबाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरे ।
उपत्यकाबाहिर रहेका संघीय, प्रदेशिकलगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने स्वास्थ्य जनशक्ति उपलब्ध गराउन नसकिएको उनले बताए ।
मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत र उपत्यकाबाहिर करिब ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यकाबाहिर आवश्यकताको एकतिहाइ जनशक्तिसमेत नरहेको उनले बताए ।
पौडेलले सबै स्थानमा आवश्यकताअनुसार जनशक्ति राख्न सकिए सोही स्थानमा हुने विपतमा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे ।
उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेकोसमेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठुलो सहयोग पुर्याउन सकिने उनको भनाइ छ ।