
समकालीन प्रगतिवादी साहित्यको भण्डारमा थपिएको अर्को कथासंग्रह हो– कथाकार हिरामणि दु:खीको ‘हेडक्वार्टर’ । दु:खी समकालीन प्रगतिवादी दुनियाँमा कुनै नयाँ नाम होइन, तर ‘हेडक्वाटर’ कथासंग्रह भने नयाँ हो । यसमा समेटिएका कथाका विषयले नयाँ संसारको कल्पना गर्छन् । जनताको चाहना र क्रान्तिकारीहरूको बलिदानीप्रति अन्तर्घात गर्ने विश्वासघाती हेडक्वार्टरको वास्तविकतालाई शल्यक्रिया गर्न सफल छ ‘हेडक्वाटर’ ।
वर्तमान राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत विविध विषयमा लेखिएका १५ वटा कथा यसभित्र संग्रहित छन् । प्रत्येक कथाका पात्रले सामाजिक गतिविधिको चरित्रलाई प्रतिनिधित्व गरेका छन् । खासगरी, जनयुद्ध र त्यसपछिको परिवेशको अवस्थाबोध गराउँदै कथा बुनिएका छन् । आमूल परिवर्तनका लागि जनताको अपार र अतुलनीय योगदान तथा बलिदानीमा अन्तर्घात गर्नेमाथि तीखो प्रहार गरिएको छ ।
दु:खीका परिभाषा (कवितासंग्रह २०६१), जून पस्कने यात्रामा (कवितासंग्रह २०६५), युद्धका कथा (कथासंग्रह २०६९) र स्मृतिका कुइनेटा (संस्मरणसंग्रह २०७०) प्रकाशित कृति हुन् । पत्रकारिता र राजनीतिमा समेत सक्रिय रहेका दु:खी हाल ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’को अध्यक्षको जिम्मेवारी पनि छन् । दर्जनौँ साहित्यिक संस्था एवं सांस्कृतिक संगठनको नेतृत्व गरिसकेका दु:खीको ‘हेडक्वाटर’ कथासंग्रह पाँचौँ कृति हो । यो कृतिलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरी बजारमा ल्याएको छ ।
‘हेडक्वाटर’ कथाले हेडक्वार्टरले क्रान्तिको भविष्यमाथि किन र कसरी बेइमानी गरेको छ भन्ने तथ्य बाहिर ल्याएको छ । लालुपाते अर्को वर्ष पनि फुल्ने आशामा क्रान्तिकारी पर्खिबसेका मात्र हुन् थाकेका होइनन् । शोषित–पीडित अझै पनि लालुपाते फुल्ने उचित मौसमको खोजीमा छन् । हिरासतबाट स्पात बनेर निस्किएका टीकाराम र ईश्वरी सर स्पातिलो हतियार बन्ने वेला भएको छ । चन्द्रबिरे दाइले मन पराएको ठुलाघरे र सानाघरेको नयाँ समाज निर्माण पनि चतुरमान र छट्टुप्रसादहरूले भताभुंग पारिदिएका छन् । विश्वासघातीहरूले चन्द्रबिरेले मन पराएको सत्ता लथालिंग पारिदिए पनि बुद्धिप्रसादले त्यो संसार पुन: जागृत गराउने प्रयास गरिरहेकै छ । निर्माणले क्रान्तिको बाटोमा विश्वासघात गरेको छ, तर पनि शोषित उत्पीडित र परिवर्तनकारी जनताले वर्गसंघर्षलाई निरन्तरता दिने प्रयास गरिरहेकै छन् ।
मनकुमारीको घाउ सुमसुम्याउने व्यवस्था ल्याउन अझ सशक्त विद्रोहका लागि मनकुमारीकै छोरानाति जाग्न थालेका छन् । रोजगारी खोज्न देश छोडेर जाने प्रमोदले पैसा त कमायो, तर अरू सबै चिज गुमायो । उसको पैसाले न देश सम्पन्न भयो न समाज । न त छोराछोरीले असल संस्कार सिके । बाबु–आमालाई नै बिरानो देख्ने संस्कार छोराहरूले सिकेको देखेर प्रमोद पश्चात्तापमा पर्यो । सन्तानका लागि सबै चिज त्यागेर बिदेसिएको बाबुको पीडासमेत नबुझ्ने नयाँ पिँढीले के देश बनाउला ? इमानदार क्रान्तिकारी युवाहरूको पसिना खाडीमा बग्दै छ । यता तिनै युवालाई नेतृत्व दिएको चतुरमान चाप्लुसे चम्चेहरू अगाडि र पछाडि लगाएर छोराको बर्थडेमा केक काट्छन् । क्रान्ति गरेर देश बनाउने सपना देखेको सन्तोष विवश भएर तल्लो बाटो अमेरिका पुगेको छ । के अमेरिका पुगेको सन्तोषलाई देशको माया थिएन होला ? दमारे खोलाको पुख्र्यौली खेत बेचेर अमेरिका पुगेको सन्तोष देश फर्कोस् भन्ने चाहना सबैको छ । सन्तोष घर फर्कोस् र फेरि कलम उठाओस् लेखोस् क्रान्तिका उद्घोष । लेखोस् परिवर्तनका उद्घोष अनि समृद्ध देशको खाका कोरोस् । देशले असल छोराहरूको चाहना गरेको छ । लेखराज अब देश फर्कनुपर्छ । लेखराजका बुढाबाउ लेखराजको प्रतीक्षामा अझै पनि मिल चलाउँदै बसेका छन् । खेतमा सकिनसकी जान्छन् र धान रोप्छन् । खेत बाँझो हुनदिनु भनेको देशको अपमान गर्नु हो भन्ने राम्ररी बुझेका छन्, तर एउटा क्रान्तिकारी युवकले देश छोडेर निष्ठुरी बन्न नैतिकताले दिँदैन । सायद अमेरिकाबाट पठाएको रेमिट्यान्सले भव्य भवन बनिसकेको छ । त्यो भवनमा बस्दा पनि आमा र बुबालाई सन्तुष्टि पटक्कै मिलेको छैन । लेखराजलाई नै खोजिरहेका छन् । यो देशको आह्वान हो । हामीजस्ता कलम चलाउनेको आह्वान हो ।
‘ऊ हेर्नुस् त गहनाको जुलुस् । ... दाइजोको रास लाग्छ ।’ संस्कार र संस्कृति परिवर्तन गर्नका लागि गर्जेर भाषण छाँट्दा कहिल्यै नथाक्ने आजादको छोरीको बिहेको रमझमले ठुलै सामन्तको रमझमलाई पनि ओझेलमा पारेको छ । आजादको छोरीको बिहेमा कति खर्च भएको होला ? कथाकारले समेत अनुमान गर्न सकेका छैनन् । त्यसको हिसाबकिताब कमरेडले हेडक्वार्टरमा देखाउँछन् कि देखाउँदैनन् ? जनताले त्यसको आयस्रोत खोज्नुपर्छ ।
कथासंग्रह पढ्दै गर्दा कतै आँसु झरे मेरा । हाम्रानजिकैका साथीभाइका कथा छन् यसमा । कथा पढ्दै गर्दा आफूले चिनेकै मान्छेहरूको जीवनसँग मेल खायो र उनीहरूको झलझली याद आइरह्यो । दु:खीले कथाहमा जुन बिम्ब र प्रतीकको प्रयोग गरेका छन्, त्यसले हाम्रै समाजका वरपर घटेका घटना परिघटना एवं यथार्थलाई सम्झाइदिएका छन् । यो स्रष्टाको लेखकीय क्षमताको उत्कृष्ट नमुना हो । कथा पढ्दै गर्दा मजस्ता पाठकको दिमागमा कतै विद्रोहको भाव पैदा हुन्छ त कतै आशाको अंकुरण पैदा हुन्छ ।
अन्त्यमा, कथासंग्रहले क्रान्तिको दिशानिर्देश गरेको छ । कुनै जादुगरी घटना यहाँ लेखिएको छैन । यस कथासंग्रहलाई विविध पक्षबाट समीक्षा गर्न सकिन्छ । हेडक्वाटर संग्रहणीय र पठनीय कथासंग्रह हो । यो कृति वास्तवमा जुन वर्गको प्रतिनिधित्व गरेर लेखिएको छ तिनै वर्गका हातमा पुग्नुपर्छ । बुर्जुवा वर्गले यस कृतिलाई ग्रहण गर्दैनन् । वर्तमानलाई छर्लंग पारिदिएको र आगामी पुस्तालाई दिशानिर्देश गरेको समकालीन प्रगतिवादी कथाको उत्कृष्ट कथाको श्रेणीमा यस कथासंग्रहलाई राख्नुपर्छ ।