मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ श्रावण ९ शुक्रबार o६:o४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रसुवागढी–केरुङमा भदौभित्र बेलिब्रिज बनाइदिने चीनको प्रस्ताव

नेपालले औपचारिक सहमति दिएपछि पुल निर्माण अघि बढ्ने, परराष्ट्र मन्त्रालयमा पुगेको छ फाइल

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o६:o४:oo

असार अन्तिम साताको बाढीले नेपाल–चीन जोड्ने सीमापुल बगाएपछि सडक–सम्पर्क विच्छेद भएको रसुवा–केरुङ नाकामा एक महिनाभित्रै बेलिब्रिज निर्माण गरिने भएको छ । ३० भदौ (१५ सेप्टेम्बर) भित्र बेलिब्रिज निर्माण गरेर सञ्चालनमा ल्याउने प्रस्ताव चीनले गरेको छ । यसमा नेपालले मौखिक सहमति जनाइसकेको छ । औपचारिक सहमति दिएपछि पुल निर्माण अघि बढ्नेछ । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार साँझ बसेको बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल र सडकको पुनर्निर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् चीनसँग समन्वय गर्ने निर्णय गरिसकेको छ । 

अर्जुन पौडेल, सिडिओ, रसुवा
चीनले बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री केरुङसम्म ल्याइरहेको छ, पारिपट्टि साइट क्लियरेन्सको कामसमेत सुरु गरिसकेको छ । नेपाल सरकारले सीमामा संरचना निर्माणको सहमति दिएपछि उनीहरूले धमाधम काम अघि बढाउनेछन् ।

२४ असारको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि चीनबाट हुने दुई देशबिचको व्यापार पूर्ण रूपमा रोकिएको मात्र होइन, अनिश्चितसमेत बनेको थियो । त्यसलगत्तै चीनले बेलिब्रिज र सडक निर्माण तथा बन्दरगाह मर्मत–सम्भारलगायतका प्रस्ताव गरेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । ‘बाढीले रसुवा–केरुङ नाकालाई क्षतिग्रस्त बनाइदियो । मितेरी पुल बगायो । चीनले बाढी गएको केही दिनमै त्यहाँ आफैँले बेलिब्रिज निर्माण गर्ने प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘अहिले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमा पुगेको छ । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएर आवश्यक निर्णय गर्दै समझदारी गरेपछि मात्रै पुल निर्माण अघि बढ्नेछ ।’

रसुवाका सिडिओ अर्जुन पौडेलले चिनियाँ पक्षले रसुवा–केरुङमा ३० भदौसम्ममा बेलिब्रिज निर्माण गरेर सञ्चालनमा ल्याउने प्रस्ताव गरेको र नेपालले त्यसमा औपचारिक समझदारी जनाउन बाँकी रहेको बताए । ‘चीनले बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री केरुङसम्म ल्याइरहेको छ, पारिपट्टि साइट क्लियरेन्सको कामसमेत सुरु गरिसकेको छ,’ उनले भने, ‘नेपाल सरकारले सीमामा संरचना निर्माणको सहमति दिएपछि उनीहरूले धमाधम काम अघि बढाउनेछन् ।’ जिल्ला प्रशासनले टिप्पणीसहितको सुझाव गृह मन्त्रालयमार्फत परराष्ट्रमा समेत पठाइसकेको उनले बताए । भदौभित्रै बेलिब्रिज निर्माण भएर सञ्चालनमा आउनेमा आफू आशावादी रहको पौडेलले बताए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुई देशबिचको विकास निर्माणको सहकार्य निरन्तर हुँदै आएको बताए । ‘कुन ठाउँमा के–के संरचना बन्ने, कसरी अघि बढ्ने भन्ने कुरा नितान्त आन्तरिक हुन्छन्, त्यो वेला आएपछि मात्रै सार्वजनिक हुन्छन्,’ उनले भने, ‘नेपाल–चीनबिच विकास निर्माण र सहयोग आदान–प्रदान निरन्तर भइरहन्छ, यो प्रक्रिया अहिले पनि चलिरहेको छ । रसुवा–केरुङ नाकामा हुने संरचना निर्माणलगायतका विषयमा उपयुक्त समय आएपछि औपचारिक जानकारी गरिन्छ ।’

रसुवागढी नाकाबाट कति हुन्छ व्यापार ?
नेपाल र चीनबिच वार्षिक सवा तीन खर्ब रुपैयाँहाराहारीको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँबराबरको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ६३ करोड रुपैयाँबराबरको भएको भन्सार विभागको तथ्यांक छ । 

नेपाल–चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । गत आर्थिक वर्ष ०८१/८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाखबराबरको आयात भएको छ । जुन कुल आयातको ४.७२ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाखबराबरको निर्यात भएको छ । यो कुल निर्यातको ०.७४ प्रतिशतबराबर हो ।