मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ श्रावण ७ बुधबार ११:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्ला प्रतिस्थापन गरेर जंगलभरि फलफूल र जडीबुटी 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार ११:o७:oo

स्थानीय सरकारले चाह्यो भने ग्रामीण जनताको पक्षमा थुप्रै काम गर्न सक्छ भन्ने उदाहरण पेश गरेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ ले फेरि अर्को अभियान सुरु गरेको छ । अभियान हो सल्लाको रुख प्रतिस्थापन गरेर वनभरि फलफूल र जडीबुटी लगाउने । 

साँगाचोकलाई सरकारले सुख्खा क्षेत्र घोषणा गरेको छ । जहाँ जंगलभरि सल्लाको रुखमात्रै छन् । पाँचवटा सामुदायिक वन रहेको उक्त वडामा सल्लाको जंगलले बर्खामा न्यून वर्षा हुन्छ । वर्षा नभएकै कारण खेतवारी, पशुलाई मात्रै होइन मानिसका लागि पिउनेपानीको पनि अभाव हुन्छ । 

पानीको संकट टार्न सल्लाको रुखलाई प्रतिस्थापन गर्ने योजना वडाले बनाएको वडाध्यक्ष रोशनराज गिरीले बताए । ‘ठूला रुख भएको सल्लाको सामुदायिक वनले जमिन सुख्खा भयो । पानी पुनर्भरण हुन सकेन । घाँस र पोथ्रा लोप भए । जंगलमा केही नभेटाएपछि बाँदर सोझै खेतबारीमा आयो,’ गिरीले भने, ‘ पानीको समस्या र बाँदरको उपद्रो रोक्न पनि सल्लाको रुख प्रतिस्थापन गर्न लागेका हौंँ ।’

वनदेउ पात्ले ठूलो सामुदायिक वन, शेराडाँडा पञ्चेडाँडा र थानाको सामुदायिक वनमा सल्लाको रुख प्रतिस्थापन गरेर आँप, अम्बा, नासपाती, हलुवाबेद, जामुन र चिउरीजस्ता फलफूल र निम, मोरिंगा, हर्रोबर्रो, अमला र चाँप जस्ता जडीबुटीको विरुवा लगाउन सुरु गरिएको उनले सुनाए ।

हालसम्म पाँच हजार विरुवा रोपण भएसकेको छ । सल्लाको रुख हटाएर सुख्खा क्षेत्रलाई जल पुनर्भरण गर्ने अभियानको लागि स्थानीय वन समुहले सल्ला प्रतिस्थापन कार्ययोजना बनाएर जिल्ला वन कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरेका छन् । सामुदायिक वनमा लगाउने विरुवा शान्ति सेवा गृह संस्थाले निःशुल्क उपलब्ध गराइरहेको छ । विरुवा रोप्न गाउँले सबै मिलेर श्रमदान गरिरहेका छन् । श्रमदानमा आउने वडावासी प्रत्येक घरलाई फलफूलका पाँचवटा विरुवा पनि दिने गरिएको छ ।