
कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । दुई वर्षको निर्माण सम्झौता भए पनि १५ महिनाअघि नै पुल तयार भएपछि स्थानीय हर्षित छन् ।
उक्त पुल वनगाई–मोतीपुर–भलवाड–डोहोटे सडकखण्डअन्तर्गत पर्छ, यहाँ वर्षायाममा कोइली खोला तर्न जोखिमपूर्ण थियो । तर, पुल बनेपछि वर्षायाममा आवतजावत गर्न कुनै कठिनाइ नहुने वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बताए । ‘पुल नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अहिले पुल निर्माण सम्पन्न भएपछि यात्रा हुने भएको छ ।’
पुलसँगै जोडिएको बाटोले पूर्व–पश्चिम राजमार्गलाई वाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोड्ने गरेको छ । जसकारण क्षेत्रीय यातायात सुधार र व्यापारिक सञ्जाललाई पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा सम्झौता भएको पुल निर्माणको काम फट्टाफुट भएकाले समयअगावै सकिएको निर्माण कम्पनी श्रेष्ठ एन्ड एनबी जेभी, बुटवलका कन्स्ट्रक्सन प्रमुख नारायणप्रसाद भट्टले बताए । पुलको लम्बाइ ७३.५ मिटर र चौडाइ १० मिटर रहेको छ ।
पूर्वपट्टिको कोइली खोला (क)मा भने यसअघि नै पुल निर्माण भइसकेको थियो । कोइली (ख)मा पनि पुल निर्माण भएपछि सो क्षेत्रको सडक सञ्जाल थप मजबुत भएको वडा नम्बर ९ का अध्यक्ष कमल पौडेलले बताए ।