
कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माणकार्य अगाडि बढेको छ । सुक्खा बन्दरगाहअन्तर्गत एकीकृत जाँचचौकी निर्माण गर्न निर्धारित क्षेत्रमा माटो भराइ गर्ने, जमिन सम्याउने तथा तारबार गर्ने कार्य भारतीय सिओएमटी कन्स्ट्रक्सन प्रालिले मंगलबारबाट सुरु गरेको हो । करिब तीन अर्ब ८० करोड रुपैयाँको लगानीमा भारतले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गरिदिने यसअघि नै सम्झौता भइसकेको छ ।
दुवै देशले संयुक्त रूपमा शिलान्यास गरेपछि परियोजना निर्माणले गति लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । देशभरका सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार रुख कटान सकिएको र जग्गाको क्षेत्राधिकारसमेत प्राप्त भएपछि निर्माण सुरु गर्न भारतीय पक्षलाई पत्राचार गरिनेछ ।
‘साइड क्लियर भइसकेको छ र काम सुरु गर्न सकिन्छ भनेर दुई हप्ताअघि नै भारतलाई पत्र पठाइएको थियो,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘भारतले छनोट गरेको निर्माण कम्पनीले अहिले प्रारम्भिक काम सुरु गरिसकेको छ ।’ भारतीय पक्षले तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्ने सहमति भएको गजुरेलले जानकारी दिए ।
दुई वर्षअघि सम्झौता, बल्ल काम सुरु
लामो समयदेखि चर्चामा रहेको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न दुई देशबिच ०८० को असारमा सम्झौता भएको थियो । सुक्खा बन्दरगाहका लागि छुट्याइएको ४३ हेक्टर जमिनमध्ये २५ हेक्टरमा संरचना बनाउने योजना छ । त्यहाँ गौरीशंकर सामुदायिक वनको एक हजार सात सय पाँचवटा रुख कटान गरिएको छ । वातावरणीय प्रभाव मूल्याकंकनमा ढिलाइ हुँदा बन्दरगाह निर्माणको काम अगाडि बढ्न नसकेको गजुरेलले बताए । बन्दरगाह क्षेत्रमा गोदाम घर, प्रशासनिक घर, भन्सार जाँच, पार्किङस्थललगायतका पूर्वाधार निर्माण हुनेछन् । ‘सुक्खा बन्दरगाहको डिपिआर पहिले नै तयार भइसकेको छ । अहिले रुखका जरा हटाउने, माटो सम्याउने, पर्खाल निर्माण गर्ने काम थालिएको छ,’ उनले भने, ‘दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरेपछि पूर्वाधार निर्माणको काम अगाडि बढ्छ ।’
आर्थिक विकासमा टेवा पुग्ने आशा
सुक्खा बन्दरगाह निर्माणले भारत तथा तेस्रो मुलुकसँगको व्यापारमा सहज हुनुका साथै सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ । उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डका सदस्यसमेत रहेका सुदूरपश्चिमका उद्यमी तेजबहादुर चन्दले सुक्खा बन्दरगाह बनेपछि आर्थिक विकासको आधार हुने बताए । ‘दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण भए भारत तथा तेस्रो मुलुकसँग व्यापार गर्न नेपालको सबैभन्दा छोटो नाका हुनेछ,’ उनले भने ।
व्यवसायी दिवाकर भट्टले सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिम नेपालको औद्योगिक तथा व्यावसायिक विकासमा टेवा पुग्ने बताए । भारतको नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने अपेक्षा गरेको उनको भनाइ छ । सुदूरपश्चिममा अहिले ठुलो सामान आयात गर्दा नेपालगन्जको नाका प्रयोग गर्ने गरिएको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आए छोटो पर्ने भएकाले लागत पनि घट्ने व्यवसायीहरू बताउँछन् ।
नेपालले अहिले तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतको विशाखापटन, कोलकाता र हल्दिया बन्दरगाह प्रयोग गर्ने गरेको छ । दोधारा–चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि भारतको गुजरात र उडिसाको बन्दरगाह प्रयोग गर्न पाए छोटो पर्ने र यसले सामानको ढुवानी लागत घट्ने इन्टरमोडेलका कार्यकारी निर्देशक गजुरेलले बताए ।