
नेपालले एकदिवसीय मान्यता पाएको सात वर्ष भइसकेको छ । यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग आबद्ध राष्ट्रसँग होम एन्ड अवे अवधारणामा सिरिज खेलेन । सन् २०१८ मा एकदिवसीय हैसियत पाएको नेपालले ऐतिहासिक रूपमा पहिलोपटक कुवेतसँग होम एन्ड अवे सिरिज खेल्ने भएको छ । नेपाल र कुवेतले एकआपसका क्रिकेट विकासका लागि यस्तो सम्झौता गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटको अभ्यासअनुसार होम एन्ड अवे सिरिज खेल्ने चलन छ । नेपाल र कुवेतले यो सिरिजलाई ऐतिहासिक मानेका छन् । दुवै क्रिकेट राष्ट्रका बोर्डले पुरुष र महिला टोलीबिच होम एन्ड अवे सिरिजका लागि सम्झौता गरेका छन् । सन् २०२६ देखि एकअर्काविरुद्ध कम्तीमा तीनवटा टी–२० आई सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बताएका छन् ।
‘कुवेत क्रिकेट बोर्डसँग क्यानले एउटा सहमति गरेको छ, अर्को वर्ष दुवै राष्ट्रका पुरुष र महिला टोलीले एकआपसमा टी–२० सिरिज खेल्नेछन्,’ लामाले भने । सिरिजअन्तर्गत ५० ओभर फर्म्याट पनि समावेश छ । सहमतिअनुसार टी–२० आई र एकदिवसीय सिरिज प्रत्येक वर्ष हुनेछ । दुई राष्ट्रका क्रिकेट बोर्डबिचको सम्बन्ध प्रकाढ बनाउनुका साथै खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय खेलको एक्सपोजर प्राप्तिका लागि सिरिज महत्वपूर्ण हुने प्रवक्ता लामाले बताए ।
‘यस दुई संघबिचको सम्बन्ध बलियो हुने मात्र होइन, दुवै पक्षका खेलाडीले अन्तर्राष्ट्रिय खेलको अनुभवसमेत लिनेछन्,’ उनले भने, ‘होम एन्ड अवे अवधारणाले ऐतिहासिक हुन सक्छ ।’ सिरिजको मिति भने आइसिसीको क्यालेन्डरअनुसार निर्धारण गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० आईको वरीयताअनुसार नेपाल १८औँ र कुवेत २३औँ स्थानमा छ ।
कुवेतमै विश्वकपको एसियन छनोट
कुवेतसँग ऐतिहासिक सम्झौता गरेको नेपालले उनीहरूकै मैदानमा आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन प्यासिफिक छनोटमा सहभागी हुँदै छ । ‘कुवेतले विश्वकप छनोट आयोजना गर्दै छ । छनोटअघिको सम्झौताले नेपालले त्यहाँको मौसमबारे बुझन सहज हुने विश्वास छ,’ क्यानका प्रवक्ता लामाले भने, ‘हामीलाई उनीहरूको मौसम र संस्कृति बुझ्न पनि सजिलो हुनेछ ।’ विश्वकप छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् । नेपालको समूहमा जापान रहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछ ।
सुपर सिक्समा शीर्ष तीन राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकाले आयोजना गर्ने आइसिसी टी–२० पुरुष विश्वकपमा स्थान बनाउनेछन् । नेपाल र कुवेतबिच अन्तर्राष्ट्रिय खेलमा केवल टी–२० आईमा मात्र प्रतिस्पर्धा भएको छ । सन् २०१९ को २७ जुलाईमा दुई राष्ट्रबिच पहिलोपटक टी–२० आईमा भिडन्त भएको थियो । जसमा नेपाल सात विकेटले विजयी रह्यो । यस वर्ष कुवेत र नेपालबिच दुई खेल भए । गत अप्रिलमा हङकङमा भएको सिरिजमा नेपाल र कुवेतले समान एक–एक जित हात पारे । गत १० अप्रिलमा कुवेतमाथि नेपालले ६ विकेटको जित निकालेको थियो । १३ अप्रिलमा भएको खेलमा कुवेतले नेपालमाथि ३ रनको रोमाञ्चक जित निकाल्यो । नेपाल एकदिवसीय र कुवेत टी–२० आई मान्यताप्राप्त राष्ट्रअन्तर्राष्ट्रिय क्रिकेटमा कुवेतको तुलनामा नेपाल बढी अनुभवी राष्ट्र हो । नेपाल एकदिवसीय मान्यताप्राप्त राष्ट्र हो भने कुवेतले केवल टी–२० आई मात्र पाएको छ । सन् १९८८ मा नेपाल र सन् १९९८ मा कुवेतले आइसिसीको सदस्यता पाएका थिए । नेपालले दुईपटक आइसिसी टी–२० विश्वकप खेल्दा कुवेतले अहिलेसम्म स्थान बनाउन सकेको छैन । कुवेतले सन् २०१९ मा माल्दिभ्सविरुद्ध पहिलो टी–२० आई खेलेको थियो ।
यसको पाँच वर्षअघि नेपालले हङकङविरुद्ध टी–२० आई खेल्यो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले पहिलो टी–२० आई खेलका रूपमा हङकङविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सन् २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय सिरिज खेलेको थियो । नेपालले अहिलेसम्म टी–२० आईमा एक सय तीन खेल पूरा गरेको छ । कुवेतले ७५ वटा टी–२० आई खेलेको छ ।
महिलातर्फ नेपाल अपराजित
सम्झौताअनुसार अर्को वर्ष सिनियर दुवैका महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको तुलनामा नेपाली महिला खेलाडीले कुवेतमाथि शतप्रतिशत जित निकालेका छन् । अहिलेसम्म ६ खेल हुँदा नेपालले कुवेतलाई हराउँदै आएको छ । सन् २०१९ मा नेपालले पहिलोपटक बैंककमा कुवेतविरुद्ध टी–२० आई खेलेको थियो । जसमा नेपाल ३० रनले विजयी भयो । सन् २०२१ मा नेपालले पहिलोपटक कुवेतमाथि सानदार जित निकाल्यो । त्यसबेला नेपाल नौ विकेटले विजयी रह्यो । अहिलेसम्म नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको त्यही नै थियो । सन् २०२४ मा यी दुई राष्ट्रबिच अन्तिमपटक प्रतिस्पर्धा हुँदा नेपाल आठ विकेटले विजयी भयो ।
भारतको सहयोग निरन्तर
अहिले नेपाली राष्ट्रिय टोलीका २० जना क्रिकेटर भारतको बेंग्लोरको राष्ट्रिय एकेडेमी (एनसिए)मा प्रशिक्षण गरिरहेका छन् । आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरण प्रशिक्षण गर्न टोली बेंग्लोरमा पुगेको हो । प्रशिक्षण सोमबार देखि सुरु भएको क्यानले जनाएको छ । खेलाडीले तीन अगस्टसम्म राष्ट्रिय क्रिकेट एकेडेमीमा दोस्रो चरणको प्रशिक्षण गर्ने छन् । सिनियर टोली दोस्रोपटक एनसिएमा पुगेको हो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको तयारीका लागि नेपाली टोली एनसिएमा प्रशिक्षण गरेको थियो । दोस्रो पटक एनसिएमा प्रशिक्षण अवसर पाउनु पछाडि भारत सरकारको सहयोगमा हो ।
गत वर्ष भारतका विदेश मन्त्री एस जयशंकरले नेपालमा क्रिकेटको विकासका लागि भारतको समर्थन रहने बताएका थिए । भारतकै सहयोगमा नेपालले अप्रिल २०२४ मा बरोडा र गुजरात क्रिकेट एसोसिएसनका टोलीसँग त्रिकोणात्मक टी–२० अभ्यास खेलेको थियो । सिनियरलाई मात्र नभएर उमेरसमूहको नेपाली क्रिकेटरलाई पनि सहयोग गरेको छ । आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा गत मार्च २०२५ मा नेपाल र दिल्ली एण्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनबिच खेल भएको थियो । यसैगरी, नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्डमा मे २०२५ मा हुने आइसिसी महिला एसिया विश्वकप छनोटको तयारीका लागि गत अप्रिलदेखि मेसम्म नयाँ दिल्लीमा विशेष प्रशिक्षण लिएको थियो ।