
कोभिडयता पहिलोपटक आयातमा सुधार, निर्यातमा पनि फड्को, तर वैदेशिक व्यापार घाटा चुलिने क्रमले पायो निरन्तरता, आयातित वस्तुको सूचीमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै, धान–चामलसमेत उच्च आयात हुँदा व्यापार घाटा उच्च
कोभिडयता आर्थिक क्रियाकलाप बढ्न नसक्दा सुस्त रहेको वैदेशिक व्यापार गत आर्थिक वर्ष ०८१/८२ मा भने सुधारिएको छ । भन्सार विभागका अनुसार गत आवमा १८ खर्ब चार अर्ब १२ करोडको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो आव ०८०/८१ को तुलनामा १३.२५ प्रतिशतको वृद्धिदर हो ।
तर, आयात चुलिएसँगै व्यापार घाटा पनि बढेको छ । निर्यातको हिस्सा न्यून भएकाले गत आवमा १५ खर्ब २७ अर्ब व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ, जुन अघिल्लो आव ०८०/८१ को तुलनामा ६ प्रतिशत बढी हो । उक्त आवमा १४ खर्ब ४० अर्ब व्यापार घाटा भएको थियो ।
विभागका अनुसार गत आवमा वस्तु आयात अघिल्लो वर्षको तुलनामा दुई खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
आयातको तुलनामा निर्यातले फड्को मारेको छ । गत आव ०८१/८२ मा दुई खर्ब ७७ अर्बको वस्तु निर्यात भएको छ । अघिल्लो आव ०८०/८१ मा एक खर्ब ५२ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात् एक वर्षमा एक खर्ब २४ अर्ब (८१.८ प्रतिशत)ले निर्यात बढेको हो ।
भारतसँग निर्भर छ आयात–निर्यात
गत आवमा भारतबाट मात्रै १० खर्ब ७१ अर्बको वस्तु आयात भएको छ । यो कुल आयातको ५९ प्रतिशत हिस्सा हो । नेपालबाट निकासी हुने वस्तुको बजारमा पनि भारतको हिस्सा ८१ प्रतिशत छ । कुल दुई खर्ब ७७ अर्बको निर्यातमा भारततर्फ मात्रै दुई खर्ब २४ अर्बको व्यापार भएको छ । अर्को ठुलो छिमेकी चीनबाट गत आवमा तीन खर्ब ४१ अर्बको आयात भएको छ । चीनतर्फ निर्यात भने दुई अर्ब ६३ करोड मात्रै छ ।
१.२८ खर्बको डिजेल आयात, सर्वाधिक निर्यातमा भटमासको तेल
नेपालले एक वर्षमा सर्वाधिक एक खर्ब २८ अर्ब रुपैयाँको डिजेल आयात गरेको छ । १४ लाख ६६ हजार दुई सय ८५ किलोलिटर डिजेल भित्रिएको हो । ७१ करोड ८१ लाख लिटर कच्चा भटमासको तेल आयात गर्दा एक खर्ब आठ अर्ब बाहिरिएको छ ।
सात लाख ४६ हजार चार सय २० किलोलिटर पेट्रोल आयात भएको छ । मूल्यमा ६४ अर्ब १२ करोडको पेट्रोल आयात भएको हो । ६२ अर्ब १२ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ । ५५ करोड ४६ लाख किलोग्राम ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ । ३५ अर्ब ५४ करोडको स्मार्ट फोन आयात भएको छ । यसमा २१ लाख ८४ हजार ६ सय ९४ वटा स्मार्ट फोन नेपाली बजारमा भित्रिएका छन् । दुई खर्ब ७७ अर्बको कुल निर्यातमा भटमासको तेल मात्रै एक खर्ब ६ अर्बको बाहिरिएको छ ।