मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
विनोदचन्द्र कोइराला
२o८२ श्रावण ६ मंगलबार o७:५२:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के यस्तै थियो त बिपीको सपना ? 

Read Time : > 5 मिनेट
विनोदचन्द्र कोइराला
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार o७:५२:oo
  • बिपीले जन्माएको, हुर्काएको र बढाएको कांग्रेसको वर्तमान भूमिकाबाट आमजनतामा पार्टी र नेतृत्वप्रति वितृष्णा बढ्दै गएको छ

नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाको ४३औँ स्मृति दिवसको पूर्वसन्ध्यामा कोइरालालाई श्रद्धाञ्जलीस्वरूप यो लेख तयार गरिएको छ । बिपीले जन्माएको, हुर्काएको र बढाएको पार्र्टी नेपाली कांग्रेसको वर्तमान भूमिकाबाट आमजनतामा पार्टी र पार्टी नेतृत्वप्रति वितृष्णा बढ्दै गएको छ । त्यही वितृष्णालाई लामो अन्तरालपछि केही दिनअघि मात्र बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चिरफार गर्ला र जनमानसलगायत पार्टी पंक्तिमा उत्साह ल्याउला कि भन्ने आशा निराशामा परिणत भएको छ । केन्द्रीय समिति बैठकमा भएको निम्नस्तरको सवाल–जवाफ, गरिएका अर्थहीन निर्णय र बैठकको समाप्तिसँगै अनुशासनका नाममा इतरपक्षमाथि बर्साइएको ‘डन्डा’ आदि घटना–परिघटनाले पार्टीप्रतिको वितृष्णा घटाउनुको साटो उत्कर्षमा पुर्‍याउने काम गरेको छ । 

बिपी स्मृति दिवस, बिपी जयन्ती, राष्ट्रिय मेलमिलाप दिवसलगायत बिपीको नाम जोडिने प्रत्येक कार्यक्रममा मात्र होइन, जनतासँग भोट माग्नुपर्दा होस्, चाहे सरकार बनाउँदा नै किन नहोस्, बिपीको राष्ट्रवाद, त्याग, तपस्या, इमानदारी र योगदानको बखान गर्दै उनका कालजयी विचारको पर्याप्त व्याख्या–विश्लेषण र चर्चा–परिचर्चा हुने गर्छ । बिपी विचारको सान्दर्भिकता झन् बढेको स्विकारिन्छ । उनका सपना पूरा गर्न उनले देखाएको बाटोमा हिँड्ने र देश र जनताको पक्षमा काम गर्ने प्रण पनि गरिन्छ । तर विडम्बना, सरकारमा सहभागी कांग्रेसले अप्रजातान्त्रिक, अलोकप्रिय, आपराधिक र भ्रष्ट कार्यमा हातेमालो गर्दै गरेको दृश्य देख्नुपर्दा बिपी बिचारका सच्चा अनुयायीलाई कति पीडा हुँदो हो ?

पार्टीको वर्तमान भूमिका, सरकारमा सहभागी भएर गरिरहेको क्रियाकलाप जे–जस्ता देखिन्छन्, यस्तो कल्पना बिपीले आफ्नो जीवनकालमा सायदै गरेका थिए होलान् । २००७ सालको जनक्रान्ति र २०३६ सालको जनआन्दोलनमा होमिँदा बिपीले २०८२ सालसम्म पनि देश र जनताको अवस्था यस्तै रहन्छ भन्ने कल्पना गरेका थिए त ? के बिपीले यस्तै पार्टी र सरकारको कल्पना गरेका थिए ? कदापि थिएनन् । 

‘यो क्या हो माथि रातो तलतिर अरू झन्, बिचमा मात्र सेतो, 
सेतोमा चारतारा फरफर गरी फर्फराइरहेको ???
माया मारेर आफ्नो जिउधन सुखको दु:ख भोगेर नाना
नेपालीलाई मात्र सहज सुख दिने वीरको यो निसाना’

२०१५ सालको आमचुनावमा घन्किएको माथिको कविताको छाप बालक मन र मस्तिष्कमा अमिट बन्न पुग्यो, जुन आजपर्यन्त मेटिएन । त्यसैले, नेतृत्वको तुच्छ स्वार्थका कारण पार्टी नै अवसानतिर जाँदै गरेको दृश्य टुलुटुलु हेरेर बस्नुपर्दा साँच्चै नै पीडा महसुस हुँदो रहेछ । मध्यरातमा तीनजना बसेर संविधान संशोधन, सुशासन, समृद्धि आदि उल्लिखित सातबुँदे सम्झौता गरेर निर्माण भएको कांग्रेस सम्मिलित यो सरकारले एक वर्ष पार गरिसक्दा एउटा बुँदा मात्र कार्यान्वयनमा आएको छ । त्यो बुँदा भनेको केपी शर्मा ओली प्रधानमन्त्री बन्नु हो । त्यसबाहेक कुनै बुँदामा पनि काम भएको पंक्तिकारलाई जानकारी छैन । बरु सुशासनको नारा दिने सरकारबाट सरकार बनेको सुरुवाती दिनबाटै कुशासनको प्रयत्न भएकोचाहिँ आमजनताले अनुभव गरिरहेका छन् । के यही थियो त बिपीको सपना ? 

राम्रो गर्नेलाई देखिनसहने वर्तमान सरकारको रबैयाप्रति किनाराको साक्षी बन्न पुगेको छ कांग्रेस । त्यसका ज्वलन्त उदाहरण हुन् कुलमान घिसिङ र बालेन शाहहरू । उज्यालो नेपालका प्रतीक बनेका कुलमानलाई नक्कली अभियोग लगाएर बर्खास्त गरियो । युवाका आदर्श (रोलमोडल) र काठमाडौंवासीका आशाका केन्द्र बालेन शाहलाई गएको ६ महिनादेखि काम गर्न असहयोग गरी उनलाई दोषी देखाउने प्रयत्नमा छ, संघीय सरकार । तर, सरकारको मुख्य घटक र देशकै पहिलो पार्टी केही बोल्दैन । बरु उल्टो गलत कामको विरोध गरेका कारण आफैँले बनाएका मन्त्रीलाई बर्खास्त गर्दा पनि प्रतिक्रियाविहीन देखियो कांग्रेस । 

विधि र प्रक्रिया मिचेर अँध्यारोमा पर्दाभित्र दुई–चारजना बसेर निर्णय गर्ने, बहुमतको आडमा निर्णय थोपर्ने र संसद्लाई पंगु बनाउने काम भइरहेको छ यहाँ । गरिब जनताको रगत–पसिनाबाट सिञ्चित राजस्व मारेर आफू र आफ्नाका लागि पद र पैसाको जोहो गर्नु नै अहिलेको सरकारको मूल उद्देश्य देखिएको छ । यस्तै–यस्तै हर्कतमा रमाइरहेको छ, आजको कांग्रेस । के यही थियो, बिपीको सपना ?

सैद्धान्तिक मूल्य, मान्यता, आदर्श र नैतिकतालाई तिलाञ्जली दिएर भ्रष्टाचार लुकाउन र भ्रष्टाचार गर्न अँध्यारो कोठामा गर्भाधान गरी यो सरकार जन्मिएको हो भन्ने पंक्तिकारको सुरुदेखिकै बुझाइ अहिले आएर प्रमाणित भएको छ । भ्रष्टाचारीका लागि अहिले स्वर्णयुग बन्न पुगेको छ । कांग्रेसका काँधमा बन्दुक राखेर राम्रोमाथि निसाना साँध्दै कांग्रेसलाई बदनाम गराउने काम भइरहेको कुरा स्वनामधन्य कांग्रेसीले बुझ्न नसक्नु कांग्रेसकै लागि दुर्भाग्यपूर्ण बन्दै गइरहेको छ । 

सहकारीपीडितको समस्या एक्लो रविमाथि थोपर्न कांग्रेसकै आसलाग्दा पात्रलाई प्रयोग गरियो, तर सरकार बनेको एक वर्ष बित्दासम्म सहकारी ठगीका प्रमुख पात्रहरूको खोजी हुन सकेन । भेटिएका पात्रलाई पनि नाम मात्रको कारबाही हुनु र रविको अदालती कारबाही अघि नबढ्नुले उनीमाथि राज्यको ज्यादती आमनागरिकसामु छर्लंग भएको छ । र, त्यसको दोषको भारी कांग्रेसलाई बोकाइएको छ । 

त्यसैगरी, उज्यालो नेपालका नायक भनेर चिनिएका कुलमान घिसिङलाई कांग्रेसकै मन्त्रीलाई प्रयोग गरेर हटाइएको छ । भिजिट भिसा प्रकरण होस्, चाहे भुटानी शरणार्थी काण्ड, कांग्रेसकै मन्त्रीहरूको संलग्नता (संसदीय छानबिन अस्वीकार गरेका कारण) रहेको बुझाइ आमजनमानसमा बन्दै गएको छ । मेयर बालेन शाहलाई असहयोग गर्न उक्साउने प्रमुख पात्रमा प्रकाशमान सिंहको नाम जोडिएको छ । भलै यी सबै काण्ड सरकार प्रमुखको संलग्नताबेगर हुन सक्दैनन्, तर बदनाम भने कांग्रेस नै भइरहेको छ । यति हुँदा पनि कांग्रेस निर्जीवजस्तो प्रतिक्रियाविहीन छ ।

सरकारको जिम्मेवार पदमा बसेका तर अभियोग लागेका पात्रउपर सफाइ लिएर स्वच्छ कांग्रेस बन्न डा. शेखर कोइरालाले गरेको अनुरोधलाई गुटप्रेरित र पूर्वाग्रहपीडित भनी उल्टो लाञ्छना लगाउने काम गरिँदै छ । प्रत्येक दिन भ्रष्टाचारका नयाँ काण्ड उजागर भइरहेका छन् । भ्रष्टाचारको रकम ‘बा’सम्म पुर्‍याउनुपर्नेजस्ता अडियो–भिडियो रेकर्ड बजिरहेका छन् । उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरोध भइरहेको छ । तर, छानबिन त परै जाओस्, झन् भ्रष्टाचारको मात्रा बढ्दै गएको छ । यति हुँदा पनि कांग्रेस सत्तालिप्सामा यतिसम्म चुर्लुम्म डुबेको छ कि न आफ्नो स्वच्छता कायम गर्छ, न त सरकार छोड्न नै सक्छ । के बिपीले यस्तै कांग्रेसको कल्पना गरेका थिए त ? 

एमालेले कांग्रेसको काँधमा राखेको बन्दुकको निसानामा अहिले जो देखिए पनि सोत्तर भएकोचाहिँ कांग्रेस नै छ । अब उमेरजन्य कारण र कांग्रेसको विधानले पनि यो अन्तिम अवसर सम्झिएको नेतृत्वलाई पार्टीको भविष्यसँग कुनै सरोकार देखिन्न । आफ्नालाई बचाउने (आमजनताको बुझाइ) र सर्तबमोजिम भोलि फेरि आफू प्रधानमन्त्री हुने अन्तिम अभिलाषा पूरा गर्न एमाले नेतृत्वको पैरवी गर्न तल्लीन छ, कांग्रेस मूल नेतृत्व । आमजनताबाट अत्यन्तै आलोचित र अत्यन्तै अलोकप्रिय कांग्रेस–एमालेको वर्तमान नेतृत्व आलोचनाको स्वर सुन्न नसकेर उल्टै जनतामाथि ‘साइबर कानुन’रुपी तरबार झुन्ड्याउन उद्यत् देखिन्छ । 

यति हुँदा पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि पदत्याग मात्रै नभई जीवन नै उत्सर्ग गर्न तयार रहने बिपी कोइरालाले जन्माएको, हुर्काएको, बढाएको र उनकै नाम र परिश्रमको ब्याज खाइरहेको नेपाली कांग्रेसका अन्य जल्दाबल्दा भनिएका नेता–कार्यकर्ताको मौनता अचम्मलाग्दो छ । के बिपीले यस्तै नेतृत्व, कार्यकर्ता, सरकार र यस्तै शासनको अपेक्षा गरेका थिए ?

बिपीले भन्नुभएको थियो, ‘नेतृत्वमा आफ्नो अपरिहार्यता र अहंको भाव उत्पन्न भयो भने बुझे हुन्छ, तिनको पतन भयो ।’ पार्टीभित्र अहिले ठ्याक्कै त्यस्तै भइरहेको छ । ‘म जे चाहन्छु त्यही गर्छु, मलाई कसैले सिकाउनु पर्दैन’ भनी कांग्रेस सभापतिले केन्द्रीय समितिमै ठाडो जवाफ दिँदासमेत केन्द्रीय समितिका पदाधिकारी एवं अधिकांश केन्द्रीय सदस्य निरीह बनेर बसेको दृश्य देखियो । पार्टी हितका लागि शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मालगायत केही सदस्यले दिएको रचनात्मक सुझावलाई अन्यथा सम्झने सभापति र उनलाई उक्साउने ‘झोले’ प्रवृत्तिका कारण कांग्रेस सुध्रिनेभन्दा सकिने दिशामा अग्रसर भइरहेको देखिन्छ । यो त अति भएन र भन्या ? के यस्तै कांग्रेसको कल्पना गरेका थिए बिपीले ? 

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए– ‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञका लागि केवल आगामी चुनावको ।’ अहिले कांग्रेस नेतृत्व ठ्याक्कै लिंकनले भनेजस्तै कुटिल राजनीतिज्ञ बनेको छ ।

बिपीले पद र प्रतिष्ठाका लागि षड्यन्त्र र गुटको राजनीति कहिल्यै गरेनन् । पद र प्रतिष्ठाका लागि आफ्नो आदर्श र सिद्धान्तसँग कुनै सम्झौता गरेनन् । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भइरहेको छ । पद र पैसाका लागि सिद्धान्त, आदर्श, इमानदारी र नैतिकता सबै बेचेर सर्वांग नांगो बनेको छ, कांग्रेस नेतृत्व । तर, हामी कांग्रेस भनाउँदाहरूमा अलिकति पनि चेत पलाएको देखिँदैन । कांग्रेसको भूमिकाकै कारण अहिले कांग्रेसप्रति आस्था राख्ने स्वतन्त्र मतदाता गएको निर्वाचनभन्दा धेरै संख्यामा रास्वपातिर आकर्षित भइरहेको तथ्यतर्फ कांग्रेस अनभिज्ञझैँ देखिन्छ ।

अहिलेको नेपालको अवस्थासँग ठ्याक्कै मिल्ने हुनाले कतै पढेको ‘सिस्टम जस्टिफिकेसन थ्योरी’का केही अंश यहाँ उद्धृत गर्न चाहेँ । उक्त सिद्धान्तअनुसार शासकले लादेको अन्यायपूर्ण प्रणालीलाई नै कालान्तरमा नागरिकले स्वाभाविक मान्न थाल्छन् । यसले योग्य, सक्षम र इमानदार व्यक्तिलाई राजनीतिबाट टाढा राख्छ । जब स्वतन्त्र सोच्नेहरू दबिन्छन्, अवसरवादी मौलाउँछन्, भ्रष्टाचार संस्थागत बन्छ र लोकतन्त्रको आत्मा कमजार हुन्छ ।’

अन्त्यमा, हालै संसद्मा चलेको सायरीको जुहारीका हरफ यो आलेखमा पनि सान्दर्भिक हुने ठानी यहाँ उल्लेख गर्दै र पुन: एकपटक जननेता बिपीप्रति हार्दिक श्रद्धा सुमन !

‘तु इधर उधर कि वात न कर,
ए वता कि काफिला क्यु लुटा ?
मुझे रहजनोँ से गिला नहीँ,
तेरी रहवरी का सवाल है ।’

र यो पनि
अमेरिकी लेखक विलियम आर्थर वार्ड भन्छन्, ‘अवसर र सूर्योदय एकै हुन्, धेरै कुर्‍यौ भने तिमीले तिनलाई गुमाउनेछौ ।’ सरोकारवाला सबैलाई चेतना भया !

(लेखक बिपी विचार समाज मकवानपुरका अध्यक्ष हुन्)