मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o७:२४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्याको बाटोमा ओलीको कठोर अवरोध

पूर्वराष्ट्रपतिलाई छेक्न ओलीका तीन रणनीति : संगठन, प्रचार र त्रास

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२४:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमन रोक्न एमाले अध्यक्ष केपी ओलीले संगठन, प्रचार संयन्त्र र मनोवैज्ञानिक दबाबको रणनीति अपनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको सक्रियताप्रति असहमति जनाउँदै उनका समर्थकमाथि अनुशासनको कारबाही गर्ने चेतावनी नै दिएका छन् । नेता–कार्यकर्तामाझ मनोवैज्ञानिक त्रास सिर्जना गरेर भण्डारीलाई कमजोर बनाउने र आगामी महाधिवेशनमार्फत निर्विकल्प अध्यक्ष बन्ने अध्यक्ष ओलीको रणनीति छ । 

केन्द्रीय कमिटीको सोमबारबाट सुरु बैठकमा ओलीले पार्टीको निर्णयअगावै प्रवक्ता बनेर भण्डारीको पक्षमा वकालत नगर्न उनी पक्षधर नेताहरूलाई चेतावनी दिएका हुन् । पार्टी च्यानलभन्दा बाहिर गएर भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने पक्षमा प्रवक्ता बन्ने काम दोहोरिए अनुशासनको डण्डा चलाइने ओलीको चेतावनी छ । सचिवालय, पोलिटब्युरो र केन्द्रीय समितिमा भण्डारीको पक्ष–विपक्षमा ध्रुवीकरण भइरहेका वेला ओलीले कारबाहीको चेतावनी दिएर भण्डारीको सम्भावित प्रभाव वेलैमा निरुत्साहित गर्ने योजना अघि सारेका छन् । 

आइतबार पूर्वराष्ट्रपति भण्डारीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटेर त्यहीँबाटै पार्टी काममा नियमित रूपमा सक्रिय हुने औपचारिक जानकारी गराएको भोलिपल्ट अध्यक्ष ओलीले जवाफी रणनीतिबारे बोलेका हुन् । केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको पक्षमा वकालत गरे ठिक नहुने भन्दै अनुशासन आकर्षित हुन सक्ने बताएर उनका समर्थकमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेका छन् । 

भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष बनाउने अभियानमा कित्ताकाट हुँदै गएका नेता–कार्यकर्ताहरूलाई लक्षित गर्दै ओलीले भनेका छन्, ‘जे गर्ने भए पनि पार्टीले निर्णय गर्छ । सदस्यता नवीकरण भयो कि भएन, सक्रिय रूपमा आउनुपर्छ कि पर्दैन ? पार्टी निर्णय हुन्छ । निर्णयअगावै च्यानलबाहिर गएर प्रवक्ता बन्ने ? जे बोल्ने पार्टीले बोल्छ ।’

ओलीले पोलिटब्युरो बैठकलाई विवाद र असहमति सकिएको ‘कट अफ’ बैठकका रूपमा लिनुपर्ने भन्दै अनुशासनहीन गतिविधि दोहोरिए ठिक नहुने बताए । ‘पोलिटब्युरो बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए ठिक हुनेछैन,’ ओलीलाई उद्धृत गर्दैै पोलिटब्युरो सदस्य महेश बस्नेतले भने, ‘एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै वेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ ।’

च्यासलमा भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउने कुरा ठिक नहुने कुरामा सजग गराइएको केन्द्रीय कमिटी बैठकमा ओलीले ब्रिफिङ गरेका छन् । उक्त भेटमा भण्डारीले पछि सोचेर जवाफ दिने जानकारी गराएको ओलीले बैठकलाई अवगत गराएका छन् । ‘भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरो बैठकका निर्णय जानकारी गराइएको छ । राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकताअनुसार पार्टीले थप निर्णय गर्नेछ,’ बैठकमा ओलीले भनेका छन् ।

पार्टी कार्यालयको भेट पूर्वराष्ट्रपति भण्डारीकै प्रस्तावमा भएको ओलीले सुनाएका छन् । ओलीले जनसंगठनहरूको महाधिवेशनबाट असन्तुष्ट र लोकतान्त्रिक प्रतिस्पर्धामा पराजितहरू भण्डारीको स्वागतमा देखिनु ठिक नभएको बताए । ओलीले आफ्नै कार्यकर्ताहरूलाई अपमान हुने गरी असहिष्णु शब्दसमेत प्रयोग गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार ओलीले भनेका थिए, ‘भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो । ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेकाहरू पनि देखिए । उनीहरू पशुपतिको आरतीमा समेत देखिएका थिए । तिनै आरतीमा देखिनेहरू यता पनि देखिए ।’ 

आजै बैठक समापन गर्ने तयारी
केन्द्रीय कमिटी बैठकमा विधान अधिवेशनको मस्यौदा, संगठनात्मक कामसहित चारवटा कार्यसूचीमा ४९ जनाले धारणा राखेका छन् । केन्द्रीय सदस्यहरूलाई बढीमा तीन मिनेट बोल्न दिइएको छ । मंगलबारै बैठक समापन गर्ने तयारी छ । पार्टी बैठकको आरम्भमै भण्डारीलाई राजनीतिमा फर्काउने पक्षमा थप वकालत गरिए कारबाही हुन सक्ने भन्दै ओलीको प्रस्तुति सुनेपछि धेरै केन्द्रीय सदस्यले दबाब महसुस गरेका थिए । यद्यपि, उनीहरूले औपचारिक प्रतिक्रिया भने दिएनन् । 
ओलीले केन्द्रीय सचिवालय बैठकको सँघारबाटै युट्युब च्यानलबाट भण्डारीको विरोधमा बोल्न सुरु गरेका थिए । केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीका पक्षमा बोले कारबाही हुने बताएपछि परिस्थिति बदलिएको एक नेताले बताए । उनका अनुसार ओलीको अभिव्यक्तिपछि भण्डारीको पक्षमा रहेका कतिपय केन्द्रीय सदस्यले पनि उनको सदस्यता नवीकरण र पार्टीमा पुनरागमनबारे संवादबाट हल गर्नुपर्ने भन्दै झिनो स्वरमा मध्यमार्गी लाइनबाट धारणा राखेका थिए । समर्थक थुप्रै केन्द्रीय सदस्य मौन बसे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा ओलीले केन्द्रीय कमिटीले आवश्यक राजनीतिक निर्णय गर्ने जानकारी दिएको बताए । ‘राष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषयमा पार्टी अध्यक्षले आफ्नोतर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राख्नुभएको छ । पार्टी सदस्यबारे पनि धेरै विवाद गर्नुपर्ने विषय भएन, केन्द्रीय कमिटीले निर्णय गरेर अन्तिम टुंगो लगाउँछ भन्ने कुरा राख्नुभएको छ,’ उनले भने । 

बैठकमा बोल्ने धेरैजसो सदस्यले पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्तावलाई समर्थन गर्ने दोहोर्‍याउँदै पार्टीलाई एकताबद्ध बनाएर मिसन ८४ पूरा गर्न ओलीको नेतृत्वको विकल्प नभएको दोहोर्‍याएका छन् । उनीहरूले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिलाई राजनीतिमा फर्काउने काम ठिक नहुने भन्दै उपयुक्त राजनीतिक निर्णय गरेर भण्डारीलाई रोक्नुपर्ने धारणा राखेका छन् । 

केन्द्रीय सदस्य नीरज आचार्यले पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्छ कि मिल्दैन भन्ने विषय राजनीतिक मामिला भएकाले राजनीतिक निर्णयबाटै टुंगो लगाउनुपर्ने बताएका थिए । अर्का केन्द्रीय सदस्य विष्णु रिजालले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग गरिनु नै बेठिक भएको तर्क गरेका थिए । बैठकमा दिवाकर देवकोटा, इन्द्रलाल सापकोटा, रमेश पौडेल, रवीन्द्र अधिकारी, रचना खड्का, अरविन्द सिंह, कृष्ण पौडेल, कृष्ण थापालगायत करिब एक दर्जन केन्द्रीय सदस्यले भने पार्टी सदस्यता नवीकरण पूर्वराष्ट्रपति भण्डारीको स्वेच्छाको विषय भन्दै तत्काल पार्टी अध्यक्ष ओलीले संवाद गरेर अन्तिम निष्कर्षमा पुग्न सुझाव दिएका थिए । 

ओलीलाई अखिलको चुनाव लडेका पौडेलको जवाफ– आफ्नै अभिभावकको प्रहारले मेरो मन रोयो, मुटु छियाछिया भयो  
एमाले अध्यक्ष केपी ओलीले पराजित समूह भन्दै केन्द्रीय कमिटी बैठकबाट अपमान गरेपछि अनेरास्ववियुको महाधिवेशनमा सात मतले अध्यक्षमा पराजित प्रकाश पौडेलले सामाजिक सञ्जालबाट जवाफ फर्काएका छन् । ‘आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ । मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ । केवल तपाईंले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ,’ उनले भनेका छन्, ‘त्यसैले आज म सोध्न चाहन्छु, अध्यक्षज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो ? के कार्यकर्ताको माझमा जानु पाप हो ?’ ७ मतले हार्नु मेरो भाग्य होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरेँ । तर, जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट ‘असन्तुष्ट’ र ‘हारेकाहरू’ भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ । छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ । मुटु छियाछिया हुँदो रहेछ । हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौँ गुणा गहिरो हुँदो रहेछ ।’