
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासँग धरौटी मागको आदेश भएको छ। सोमबार विशेष अदालतमा उनी उपस्थित भएकोमा यस्तो आदेश भएको हो।
विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थापाको निवेदनमाथि सुनुवाइ गरेको हो। उनीसँग एक लाख रुपैयाँ धरौटी मागको आदेश भएको विशेषका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।
थापासमेत पशुपतिको विद्युतीय शवदाह गृह मेसिन खरिदमा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका छन्। गत ८ असारमा यो मुद्दा दायर भएको थियो। मेसिन खरिदमा १० करोड ३३ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ।
थापालगायतविरुद्ध यसअघि पशुपतिमा सुनको जलहरी बनाउँदा सुन गायब बनाएको विषयमा पनि मुद्दा परेको थियो। यस विषयमा विशेषले सबैलाई सफाइ दिइसकेको छ भने अख्तियारले गरेको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ। फेरि शवदाह गृहको विषयमा अर्को मुद्दा दायर भएको हो।
आइतबार मात्र यसै मुद्दाका प्रतिवादी तथा अर्का निमित्त सदस्यसचिव राजुकुमार खत्रीसँग पनि धरौटी मागको आदेश भएको थियो। दुई कम्पनीसहित यस मुद्दामा १६ प्रतिवादी छन्।