
वीरगन्जको आदर्शनगरमा रहेको स्काई लाईन मलमा नयाँ क्यासिनो सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले अग्रसरता लिएको पाइएको छ । गत असार ३० गते सरकारले जारी गरेको क्यासिनो नियमावली बमोजिम अन्तराष्ट्रिय सिमाना बाट ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजना सहित जिल्लाको सुरक्षा समितिले सिफारिस गर्नु पर्ने हुन्छ ।
वीरगन्जमा हालै सञ्चालनमा आएको स्काई लाईन मल भारतीय सिमानाबाट मात्र ३ किलोमिटरको दूरिमा रहेको छ । तीन किलोमिटरको दूरिमा रहेको स्काई लाईन मलमा क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यकता पर्छ । नियमावलीमा ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने दफा थप गरिएपनि २०८० चैत ३० मा जारी भएको पर्यटन ऐनमा अन्तर्राष्ट्रिय सीमाना भन्दा ५ किलोमिटर भित्रको दूरिमा नयाँ क्यासिनो सञ्चालनको अनुमति नदिने व्यवस्था छ ।
क्यासिनो नियमावली जारी हुनु अगाडि नै जिल्ला सुरक्षा समितिको बैठकले स्काई लाईनमा नयाँ क्यासिनो सञ्चालनका लागि सिफारिस दिने प्रयास गरेको उजागर भएको छ । सम्वद्ध स्रोतका अनुसार गत असार २२ गते मुस्लिम समुदायको मोहर्रम (ताजिया) पर्वको सुरक्षा योजनाका लागि बसेको जिल्ला सुरक्षा समितिकै बैठकमा प्रमुख जिल्ला अधिकारीले स्काई लाईन मलमा नयाँ क्यासिनो सञ्चालनका लागि सिफारिस गरौँ भन्ने प्रस्ताव ल्याएका थिए । तर, बैठकमा सहभागी अन्य सुरक्षा निकायका प्रमुखले हाललाई यो निर्णय नगरौँ भन्दै टारेका थिए । ‘क्यासिनो नियमावली आयो असार ३० गते,’ प्रशासनका एक अधिकृत भन्छन्, ‘तर, सिडिओ साबलाई नियमावलीमा नयाँ दफा थप भएर आउँदै छ भन्ने पूर्व जानकारी रहिछ । दुई हप्ता अगाडि नै सिफारिस गर्न चाहेका थिए ।’
सीमानाबाट ५ किलोमिटर दूरिभित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने दफा थपेर क्यासिनो नियमावली राजपत्रमा असार ३० मा प्रकासित भएपछि साउन १ मा पनि प्रमुख जिल्ला अधिकारीले सुरक्षा समितिको बैठक बोलाएका थिए । सीमा नाकासँग जोडिएका सुरक्षा प्रमुखहरुले पर्यटन ऐन विपरित ५ किलोमिटर भित्र क्यासिनो खोल्न सिफारिस गर्न नमानेपछि साउन १ गतेको बैठकमा समेत क्यासिनोको सिफारिस हुन सकेन ।
नयाँ पर्यटन ऐन नआउँदै हतारमा सिफारिस गर्दा विवादमा पर्ने भन्दै सुरक्षा समितिका रहेका नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखले क्यासिनो सञ्चालनका लागि सिफारिस गर्न नमानेको सम्वद्ध स्रोतको दाबी छ । सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको यसअघि नै सरुवा भइसकेकाले साउन ४ गते आइतबार पर्सा सरुवा भई आएका एसपी पुरन चन्द भट्टलाई कार्यभार सुम्पिएर काठमाडौँ फर्किने योजना थियो । सशस्त्र एसपी धिमाल जिल्ला छाड्नु एकदिन अगाडि शनिबार जिल्ला सुरक्षा समितिको बैठकले स्काई लाईनमा क्यासिनो सञ्चालनका लागि सिफारिस गरेको हो ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नयाँ क्यासिनो नियमावली बमोजिम सञ्चालनमा आउन लागेको नयाँ क्यासिनोको सुरक्षाको प्रत्याभूति मात्र हामीले दिने बताउँछन् । ‘सञ्चालनको अनुमति हामीले दिने होईन्,’ प्रजिअ अर्याल भन्छन्, ‘सुरक्षाको प्रत्याभूति मात्र हामीले दिने हो ।’
प्रशासन स्रोतका अनुसार पर्साका तत्कालिन एसपी कुमोध ढुंगेलको पालामा क्यासिनो सञ्चालनको सिफारिस दिइएको थियो । क्यासिनो नियमावली नआउँदै कसरी सिफारिस गरियो भन्ने प्रश्नमा प्रजिअ अर्यालले सिफारिस गर्नेलाई नै सोध्नुस् भन्दै पन्छिए । २०८१ माघ ९ मा प्रहरीले नयाँ क्यासिनो सञ्चालनको सिफारिस दिएको पत्रमा प्रहरी निरीक्षक रोशन थापाको हस्ताक्षर रहेको छ ।
यस अघि २०८० चैत ३० मा नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जारी गरेको सम्पक्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको पर्यटन ऐनमा अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरको दूरीभित्र नयाँ क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था गरेको थियो ।
वीरगन्जको स्काई लाईन मलमा नयाँ क्यासिनो सञ्चालनका लागि पर्यटन विभागका अधिकारीलाई प्रभावमा पारि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्यांकन गरी प्रचलित कानून बमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनको लागि सिफारिस आवश्यक पर्ने दफा थप गरिएको छ। मलका सञ्चालक एवम् वीरगन्जका व्यवसायी राजेश अग्रवाल खानेपानी मन्त्री प्रदीप यादवसंग निकट मानिन्छन् ।
अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर भित्र जहाँ पनि क्यासिनो सञ्चालन गर्न दिँदा भविष्यमा अनेक सुरक्षा चुनौती थपिन सक्ने सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेका छन् । ‘बोर्डरसँगै टाँसिएर क्यासिनो सञ्चालन हुन थालेपछि भारतको विहार र उत्तर प्रदेश राज्यले आपत्ति प्रकट गर्ने अवस्था आउँछ,’ एकजना सुरक्षाविद भन्छन्, ‘यसले दुई देशबीचको सम्बन्धमा समेत समस्या ल्याउँछ ।’