मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १ बिहीबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले लमजुङको जीर्ण कारागार भवनमा क्षति, १०८ कैदीबन्दी जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १९:१८:oo

अविरल वर्षाका कारण लमजुङ कारागार भवनमा क्षति पुर्‍याएको छ। लगातारको वर्षाका कारण कारागारको मूल गेट नै भत्किएको छ। यसै जीर्ण रहेको भवनमा क्षति पुग्दा कैदीबन्दीमाथि जोखिम थपिएको छ।

लमजुङ कारागारको भवन ०२८ सालमा बनाइएको थियो। असाध्यै पुरानो र जीर्ण अवस्थामा रहेको भवनमा ठुलो र अविरल वर्षाले क्षति पुर्‍याएको हो। कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार अविरल वर्षाकाबिच बुधवार दिउँसो कारागारको मूल गेट नै भत्किएको छ।

उनका अनुसार भवनको पर्खालको अन्य भागसमेत भत्किने उच्च जोखिम छ। ‘मानवीय जोखिम हुन पाएन,’ कारागार प्रशासक मोक्तानले नयाँ पत्रिकासँग भने, ‘उच्च आन्तरिक सुरक्षा जोखिम भने कायम छ।’

कारागार भवनमा क्षति पुगेपछि सम्भावित जोखिम कम गर्न, सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन थप सुरक्षा बल थपिएको छ। घटनापछि कारागार कार्यालयले जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागसँग समन्वय गरिरहेको छ।

कारागारमा हाल २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमता छ। तर, ५८ कैदी र ५० थुनुवा गरी १०८ जना कैदी तथा थुनुवा कारागारमा छन्। क्षतिपछि उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

निकै पुरानो कारागार भवन जीर्ण हुँदा नयाँ बनाउनेबारे सरकारले कुनै पहल गरेको छैन। जसका कारण कैदीबन्दी जोखिमपूर्ण अवस्थामा छन्।