
धवलागिरी बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा प्रस्तावसहित छलफल सुरु भएको छ । सरोकारवाला र सर्वपक्षीय भेलाले क्याम्पसलाई विश्वविद्यालयको रूपमा निर्माण गर्ने प्रस्ताव अगाडि सारेको हो ।
स्थानीय समाजसेवी एवं कालिगण्डकी उत्तरगंगा शैक्षिक कोषका संस्थापक कृष्ण केसीको नेतृत्वमा बुधबार आयोजित भेलामा क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रस्ताव आएपछि छलफल अघि बढाइएको हो । छलफलमा क्याम्पस स्वायत्त भएको र यसलाई विश्वविद्यालको रुपमा विकास गर्नका लागि बृहत् छलफलका साथ अगाडि बढ्नुपर्ने सहभागीको भनाइ थियो । धवलागिरि क्षेत्रलाई शैक्षिक हबको रूपमा विकास गर्न क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने लक्ष्य क्याम्पसले पञ्चवर्षीय योजनामा समेटेर अगाडि बढेको क्याम्पस प्रमुख डा. सुदर्शन सिलवालले बताए । उन भने, ‘भविष्यमा यसलाई विश्वविद्यालयको रूपमा विकास गर्न यो क्षेत्रका सबै नागरिक अगुवा, राजनीतिक दल र सरोकारवालाले जोड गरेमा सम्भव पनि छ । जुन विषय अहिले चलेको छ यसले सार्थकता पाउने गरी हामीले काम गर्नुपर्छ ।’
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विश्वविद्यालय बनाउने विषय सजिलो नभएको र यसलाई बृहत्तर छलफलका साथ कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
छलफलमा सहभागीहरूले विश्वविद्यालय बनाउनका लागि मेघा प्रोजेक्टको आवश्यकता रहेको र सोहीअनुसार योजना बनाउनुपर्ने बताए । उनीहरूले हाल क्याम्पसमा सञ्चालन भएका संकायमा विद्यार्थी घट्दै गएका कारण पहिले यही क्याम्पस रोज्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।