मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:४८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमका पाँच किसानलाई उत्कृष्ट भीमदत्त कृषक पुरस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पाँचजना किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषकको रूपमा पुरस्कृत गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा मंगलबार एकजनालाई भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषक र चारजनालाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो। 

व्यावसायिक केरा खेती गर्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठारालाई यस वर्षको भीमदत्त सर्वोत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। उनलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो।

त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–६ का किरनपाल भारती, डोटीको आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का तुलबहादुर साउद र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की सरस्वती पाण्डेलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको हो।

सम्मानित चारैजनालाई जनही ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। भारतीले व्यावसायिक मौरीपालन, अवस्थीले तरकारी खेती, साउदले बाख्रापालन र पाण्डेयले व्यावसायिक भैँसीपालन गर्दै आएका छन्।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ घनश्याम चौधरीले कृषकलाई प्रोत्साहन गर्न र कृषि पेसालाई सम्मानित बनाउन किसानलाई पुरस्कृत गरिएको बताए। जिल्लामा उत्कृष्ट छनोट भएका किसानमध्येबाट छनोट गरी उत्कृष्ट पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए।

प्रदेश सरकारले २०७८ सालदेखि उत्कृष्ट कृषक छनोट गरेर हरेक वर्ष भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि कृषि ज्ञान केन्द्रहरुमार्फत नौवटै जिल्लाका तीन-तीनजना कृषकलाई सम्मान गरिएको थियो। उनीहरूमध्येबाट पाँचजनालाई छनोट गरेर सम्मान गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उत्कृष्ट छनोट भएका कृषकलाई नगद पुरस्कारसहित सम्मान गरे।

सर्वोत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत जेठाराले नेपालमा कृषिभन्दा उत्कृष्ट अर्को कुनै कार्य नभएको प्रतिक्रिया दिए। व्यावसायिक कृषिसम्बन्धी तालिम, मेहनत र अनुभवले आफूले सफल किसानको रूपमा पहिचान बनाउन सकेको उनले बताए।

सो अवसरमा मन्त्री थापाले कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले काम गरिरहेको बताए। कृषिमा नयाँ पुस्ताको आकर्षण बढ्दै जानुले कृषि पेसाप्रति सकारात्मक सन्देश प्रवाह भइरहेको उनले बताए। कृषिमा युवाहरूको आकर्षणले पढेलेखेकाले कृषि गर्नुहुँदैन भन्ने बुझाइ  हट्दै गएको मन्त्री थापाले बताए।