
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण सुडानको तेस्रो अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको उपस्थितिमा सम्पन्न अधिवेशनले ईश्वरप्रसाद सिग्देल र रुक्मांगद उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको छ। महासचिवमा बलराम दाहाल, सचिवमा रमेशबहादुर खत्री, कोषाध्यक्षमा आनन्दबाबु श्रेष्ठ चयन भएका छन्। प्रवक्तामा राजदेव गुरुङ र युवा संयोजकमा हिरा सिंह पौडेल क्षेत्री चयन भएका छन्।
त्यसैगरी, बाबुराम गौतमलाई आइसिसी सदस्यका रूपमा प्रस्ताव गरिएको छ। सदस्यहरूमा प्रज्वल राजभण्डारी, रामेन्द्रप्रसाद यादव, तिलक रोका, बिक्रम रवि अर्याल, वेदबहादुर चौधरी, लक्ष्मीप्रसाद ओखाबु, मनबहादुर सार्की, र कृष्णबहादुर नेपाली रहेका छन्।
अधिवेशनपछिको पहिलो बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापनाको निर्णय गरेको छ। साथै, समितिले दक्षिण सुडानमा कार्यरत नेपालीहरूको हकहित संरक्षण, श्रम समझदारी सम्झौताको पहल तथा समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगका लागि संघ अग्रसर हुने प्रतिबद्धता जनाएको छ।
संघले नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वको प्रवर्द्धनका लागि नियमित कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ। अध्यक्ष पाध्याले दक्षिण सुडानका विभिन्न क्षेत्रहरूमा रहेका सम्पूर्ण नेपालीहरूलाई एनआरएनएमा आबद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना अभिवृद्धि गरिने बताएका छन्।