
कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्डअन्तर्गत लहान मुख्य बजार क्षेत्रको सडक निर्माण अविलम्ब सञ्चालन गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन्।
पूर्व–पश्चिम लोकमार्गको लहान खण्डमा निर्माण भइरहेको ओभरपास, अन्डरपास र आकासे पुलको पाइल फाउन्डेसन निर्माणको कारणले मुख्य बजार क्षेत्रमा करिब दुई महिनादेखि दायाँबायाँ साँघुरो ग्राभेल सडकमा धुलो उड्ने, पानी पर्दा हिलाम्मे हुने र दुर्घटनासमेत हुने गरेको भन्दै स्थानीयले निर्माण सञ्चालन गर्न माग गरेका हुन्। लहानका पीडित नागरिकहरूले सोमबार बिहान करिब १० बजेदेखि एक घण्टा पूर्व–पश्चिम सडक अवरुद्ध गरेका हुन्।
पीडित नागरिकको अगुवाइ गरिरहेका राजनीतिकर्मी सत्यनारायण यादवले ठेकेदार कम्पनीले लहानको पूर्व बलानदेखि पश्चिम पडरियासम्मको करिब पाँच किलोमिटर खण्ड छिटो निर्माण सञ्चालन नगरे आन्दोलनलाई निरन्तरता दिइने बताए।
‘सडकको कारणले दुर्घटनासँगै सडकबाट उड्ने धुलोले सास फेर्नै गाह्रो भइरहेको छ,’ उनले भने, ‘स्थानीय व्यापार–व्यवसाय चौपट बन्दै गएकाले दबाबका लागि सांकेतिक विरोधस्वरूप एक घण्टा चक्काजाम गरेका हौँ, निर्माण सञ्चालन नगरिए हरेक दिन एक–एक घण्टा बढाएर बन्द गर्नेछौँ।’
मुख्य संरचनाको कारणले निर्माण ढिलाइ
कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डका प्राविधिक शाखाका इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहानमा ओभरपास, अन्डरपास, आकासे पुलको पाइल फाउन्डेसनलगायत मुख्य संरचनाको काम नगरी अन्य काम गर्नै नसकिने भएकाले सडक निर्माणको काममा ढिलाइ भएको हो।
‘मुख्य चोकमा रहेको ओभरपासका लागि ३५ मिटर गहिरो २६ वटा पाइल फाउन्डेसनको काम सकिएको छ,’ उनले भने, ‘त्यसको २८ दिनपछि परीक्षण गरेर मात्र अन्य काम गर्नुपर्ने बाध्यता छ।’ त्यसबाहेक लहान बसपार्क, प्रादेशिक अस्पतालमा आकासे पुलका लागि फाउन्डेसनको काम सकिएको उनले बताए।
‘ओभरपासका लागि गरिएको पाइल फाउन्डेसनको माटो केही कमजोर देखिएकाले २० वटा ग्राभेल फाउन्डेसनको काम गर्नुपर्नेछ,’ उनले भने, ‘पाइल फाउन्डेसनको परीक्षण नगरी ग्राभेल फाउन्डेसनको काम गर्न नमिल्ने भएकाले केही ढिलाइजस्तो लागेको हो।’
उनका अनुसार दरबार होटेलदेखि पडरियासम्म उत्तरतर्फको सर्भिस लेनको सबबेससम्मको निर्माण सकिएको भए पनि स्थानीयको अवरोधले काम रोकिएको छ। केही ठाउँमा नाला, खानेपानी र बिजुलीको खम्बाको कारणले निर्माण नियमित गर्न समस्या भइरहेको जानकारी दिँदै उनले त्यसका लागि स्थानीय अगुवाहरूले सहजीकरण गरिदिए कालोपत्रेसम्मको काम छिटो सकिने बताए।