मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
एजेन्सी गाजा सिटी
Invalid date format २१:४१:oo
Read Time : > 1 मिनेट
विश्व

गाजामा इजरायली हवाई आक्रमण : ४० भन्दा बढीको मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी, गाजा सिटी
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो।

इजरायल र हमासबिच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक सातासम्म प्रयास हुँदाहुँदै अड्किएको छ। दुवै पक्षले एकअर्कामाथि वार्ता अवरुद्ध पार्ने आरोप लगाएका छन्।

गाजामा हिंसा जारी रहँदा, युद्धका कारण दुई करोडभन्दा बढी जनसंख्यामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेका छन्। खाद्य संकट, इन्धनको चरम अभाव र अस्पतालहरूको सेवा प्रभावित बनेको भन्दै संयुक्त राष्ट्रसंघका सात निकायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गाजाको नुसेरात शिविरमा पानीको धारानजिक भएको ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जना मारिएको जनाइएको छ । गाजा सिटीमा रहेको एक व्यस्त बजारमा गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको हो ।

गाजाको दक्षिणी सागरकिनारस्थित अल–मावासी क्षेत्रमा विस्थापित बसेको पालमाथि भएको आक्रमणमा पनि तीनजना मारिएका छन्।

१५० भन्दा बढी स्थानमा आक्रमण
इजरायली सेनाले पछिल्ला २४ घण्टामा गाजा क्षेत्रमा १५० भन्दा बढी स्थानमा आक्रमण गरेको छ। ती आक्रमणमा हमासका लडाकु, हतियार भण्डारण केन्द्र, तोप तथा साना हतियार प्रहार गर्ने ठाउँहरू समावेश छन्।

युद्धग्रस्त क्षेत्रमा सञ्चारको अभाव र पहुँचको कठिनाइका कारण मृतकको संख्या र घटनाको स्वतन्त्र पुष्टि गर्न सकिएको छैन।

हजारौँको मृत्यु, अझै युद्ध अन्त्य अनिश्चित
यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको हो । उक्त दिन एक हजार २१९ जना इजरायली नागरिकको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए । हालसम्म ४९ जना अझै बन्धकमा रहेको जनाइएको छ, जसमध्ये २७ जनालाई मृत घोषणा गरिएको छ ।

हमासको अधीनमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा ५८ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ, जसमा धेरैजसो सर्वसाधारण छन् । संयुक्त राष्ट्रसंघले पनि यी तथ्यांकलाई विश्वसनीय मानेको छ।