
बैंकहरूको कोषको लागतअनुसार निर्धारण हुने आधार दरभन्दा कम दरमा समेत ऋणको ब्याजदर तोक्न पाउने व्यवस्था गर्न निजी क्षेत्रले राष्ट्र बैंकसँग माग राखेको छ । उद्योग परिसंघले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा १५ वटा बुँदागत विषय पेस गरेको छ ।
शुक्रबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले गभर्नर विश्वनाथ पौडेललाई हस्तान्तरण गरेको सुझावमा परिसंघले आधार दरभन्दा कम दरमा ब्याजदर दिन पाउने सुविधा नहुँदा राम्रा परियोजनाले प्रतिस्पर्धी दरमा कर्जा पाउने ढोका बन्द गरिदिएको दाबी गरेको छ । साथै, बैंकहरूलाई पनि मध्य तथा दीर्घकालीन दृष्टिले आकर्षक लाभ भएका राम्रा परियोजनामा लगानीको अवसरबाट वञ्चित गरेको उनीहरूको धारणा छ ।
अध्यक्ष अग्रवालले बजेटले राखेका लक्ष्य हासिल गर्न सहयोग गर्दै अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित गरी मौद्रिक नीति ल्याइनुपर्ने बताए । आगामी मौद्रिक नीतिले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने, बजारको आत्मविश्वास बढाई अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुर्याउन सक्नुपर्नेमा उनले जोड दिए । परिसंघद्वारा सार्वजनिक गरिएको पछिल्लो ‘इन्डस्ट्रियल स्टाटस रिपोर्ट’मा हालसालैको त्रैमासिक अवधिमा बजार मागमा १९ प्रतिशतले सुधार देखिएको उल्लेख छ । तर, उद्योगहरूको औसत सञ्चालन क्षमता भने अझै ६२ प्रतिशतमै सीमित छ । गत वर्ष यो क्षमता ४० प्रतिशतमा झरेको थियो ।
राष्ट्र बैंकले पछिल्ला वर्षमा नीति लचक बनाउँदै ब्याजदर न्यून तहमा ल्याएको छ । तर, लगानीयोग्य करिब ६ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमै थन्किनु चिन्ताजनक भएको परिसंघले जनाएको छ । ‘कर्जाको माग न्यून हुनु, उद्योग–व्यवसायले पूर्ण क्षमतामा काम नगर्नु र प्रविधि वा कर्मचारीमा लगानी नगर्नुजस्ता कारणले अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ,’ परिसंघले भनेको छ ।
कुल पुँजी निर्माणको ७० प्रतिशत हिस्सा निजी क्षेत्रबाट हुने गरेकोमा कर्जामा यस्तो न्यून वृद्धि हुनुले आर्थिक विस्तार र वृद्धिमा बाधा पुगेको परिसंघको ठम्याइ छ । सरकारले ०८२/८३ का लागि ल्याएको बजेटका लक्ष्यहरू हासिल गर्न राष्ट्र बैंकको समन्वयात्मक भूमिका आवश्यक रहेको परिसंघको जनाएको छ ।
निक्षेपको ब्याजदरदेखि कालोसूचीको प्रावधान हेरफेरसम्मका सुझाव
मौद्रिक लक्ष्य भेट्न बैंक ब्याजदरलाई राष्ट्र बैंकको उद्देश्यअनुरूप अनुशासित र नीतिगत दरलाई प्रभावकारी बनाउन आवश्यक रहेको उद्योग परिसंघको भनाइ