
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरी एक युवालाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ७ केजी गाँजासहित एक युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवामा धनकुटाको पाख्रीवास नगरपालिका–८ का ४६ वर्षीय भीमबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
राईले आफु बसेको गाडीको सिटमुनि जेब्रा झोलामा गाँजा लुकाएर लैजादै थिए । सात केजी गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ । पछिल्लो समय दैनिकजसो सवारी साधनबाट लागुऔषधसहित मानिसलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।