१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
गगन अयडी बाजुरा
Invalid date format o६:१९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहिरोपीडितलाई एकैनासका नयाँ घर

Read Time : > 3 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format o६:१९:oo
  • ११० परिवारका लागि नयाँ घर : विद्युत्, सडक, अपांगमैत्री शौचालयदेखि बालमैत्री धारासम्म
  • घर निर्माणमा संघीय सरकारको ६०%, प्रदेश सरकारको ३०% र पालिकाको १०% लगानी
  • धारा, शौचालय, विद्यालय, स्वास्थ्य चौकीलगायत अपुग भएको बजेट पालिकाले नै व्यहोरेको छ 
  • बस्तीमै आयआर्जनको योजना बन्दै 

तीन वर्षअघि ०७९ असोजमा बाजुराको जगन्नाथ गाउँपालिका– ६ पुुरानो काप्रीका नयाँराम सार्कीको खुसी लुटियो । पहिरोले घर मात्रै सोहोरेन, श्रीमती पनि खोस्यो । वज्रपात सहेर फेरि पनि पहिरो प्रभावित क्षेत्रमै पालमुनि दुई वर्ष कटाउन बाध्य भयो नयाँरामको परिवार ।

अहिले नयाँरामको नयाँ घर बनेको छ, तल्लो काप्रीमा । नयाँरामजस्ता ११० परिवारका लागि सुरक्षित ठाउँमा सुरक्षित घर बनेका छन्, एकैनासका । पक्की घरको भित्तामा हरियो र निलो रङ, छानामा रातो जस्तापाता । प्रत्येक घरमा शौचालय र पानीका घारा पनि बनेका छन् । गाउँमै विद्यालय र स्वास्थ्य चौकी पनि बनेको छ । आधारभूत आवश्यकतासहितको नयाँ बस्ती हेर्दै आकर्षक छ ।

‘पहिरोले घरसँगै श्रीसम्पत्ति बगाएपछि जीवन चलाउन निकै संघर्ष गर्नुपरेको थियो,’ नयाँराम सार्कीले भने, ‘पालिकाले पहिरोपीडितका लागि नयाँ र बलियो घर बनाइदिँदा साह्रै खुसी लागेको छ ।’ घर निर्माणमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र पालिकाको १० प्रतिशत लगानी छ । तर, धारा, शौचालय, विद्यालय, स्वास्थ्य चौकीलगायत अपुग भएको बजेट पालिकाले नै व्यहोरेको छ । यसले काप्रीवासीको मुहारमा खुसी र आशाको नयाँ किरण उदाएको छ ।

माथिल्लो काप्रीको घर पहिरोले लगेपछि बिस्ना सार्कीका पनि कैयौँ रात अनिदोमै कटे । त्रिपालमुनिको बसाइले उनलाई पटक–पटक अत्यायो । बाढीपहिरोले जीवनभरको कमाइ छिनभरमै सकेपछि नयाँ घर, नयाँ आडभरोसाका दिन आउनेमा उनलाई शंका थियो । तर, नयाँ घरमा सुविधासहित आरामले रात कटाउन पाउँदा बिस्नालाई जीवन सार्थक भएजस्तो लागेको छ । घरनजिकैको विद्यालयबाट बालबालिका पढेको क, ख, ग...आवाजले त झनै सपना हो कि विपना छुट्याउन मुस्किल परेको उनी सुनाउँछिन् ।

‘वर्षाको समयमा कहिल्यै घरभित्र बसेनौँ । राति कति वेला पहिरो आएर घर बगाउँछ भन्ने डरले छोराछोरी काखी च्यापेर अनिदै बस्ने गथ्र्यौँ,’ पुराना दिन सम्झँदै उनले भनिन्, ‘बाढीपहिरोले दु:ख नदिने ठाउँमा पालिकाले जग्गा किनेर घर बनाइदिएपछि आजभोलि मन शान्त भएको छ । साँझ–बिहान छोराछोरीसँग बस्न र खान पाएका छौँ । यस्तो दिन आउँदैन होलाजस्तो लागेको थियो ।’

पहिरोबाट विस्थापित भएपछि खान, बस्न र बालबालिकाको पठनपाठनमा निकै समस्या भएको बताउने अर्का स्थानीय अर्जुन सार्की अहिले आनन्दित छन् । ‘केही महिना खुला आकाशमुनि त्रिपाल टाँगेर बस्यौँ । त्यसपछि स्थानीय सरकारले नमुना बस्ती निर्माण गर्ने अवधारण ल्यायो । घर निर्माणपछि आफूजस्तै सय परिवारलाई बस्न, खान, बालबालिकालाई पठनपाठन गर्नलाई निकै सजिलो भएको छ,’ सार्कीले भने । पालिकाले बाढीपहिरोपीडित परिवारका लागि नमुना घर निर्माण गरी पुनस्र्थापना गरिदिएर जीवनयापन सहज भएको उनले बताए । अब विस्थापित परिवारका लागि आयआर्जनका कार्यक्रम ल्याउनसमेत उनले माग गरे ।

तल्लो काप्रीमा खानेपानी, विद्युत्, सडक, स्वास्थ्य, विद्यालय, एक घर एक खानेपानी धारा, शौचालय, अपांग र बालमैत्री धाराजस्ता अत्यावश्यक पूर्वाधार निर्माणले गाउँ नै हर्षित भएको स्थानीय बाडुली सार्कीले बताइन् । उनका लागि पुराना दिन एकादेशको कथा भएको छ । एकनासका नयाँ घर, एकैनासका सेवा–सुविधाले उनी फुरुंग छिन् ।

११० परिवारका लागि नयाँ घर : विद्युत्, सडक, अपांगमैत्री शौचालयदेखि बालमैत्री धारासम्म
नमुना बस्ती बनाउने अवधारणा स्थानीय सरकारको हो । जसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र पालिकाको १० प्रतिशत लगानी छ । घर निर्माणपछि प्रत्येक घरमा शौचालय, पानीका धारा, बस्तीमै विद्यालय र स्वास्थ्य चौकी बनाउन अपुग बजेट पालिकाले खर्चिएको छ । यसरी माथिल्लो काप्रीबाट पहिरो विस्थापित ११० परिवारले तल्लो काप्रीमा नयाँ घर पाएका छन् । करिब दुई वर्षमा ती घर निर्माण सम्पन्न भएका हुन् । जगन्नाथ गाउँपालिका विपत् व्यवस्थापन फोकल पर्सन निरेश कट्टेलका अनुसार एउटा घर बनाउन पाँच लाख ५० हजार रुपैयाँ लागेको छ । १९ देखि २५ असोज ०७९ मा परेको अविरल वर्षाका कारण गाउँपालिकाका ६ वटै वडामा धनजनको क्षति भएको थियो । जसमध्ये माथल्लो काप्री सबैभन्दा धेरै प्रभावित बनेको थियो । पहिरोपछि लामो समयसम्म त्रिपाल लगाएर खुला आकाशमुनि बस्न बाध्य परिवारमा नयाँ घरले खुसियाली दिएको छ । नमुना बस्तीमा खानेपानी, विद्युत्, सडक, स्वास्थ्य, विद्यालय, एक घर एक खानेपानी धारा, अपांगमैत्री शौचालय, बालमैत्री धाराजस्ता आधारभूत आवश्यकता पूरा भएका छन् ।

सबै घर मापदण्डअनुसार निर्माण 
राष्ट्रिय विपत् व्यवस्थापन तथा पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर निर्माण भएको गाउँपालिकाले जनाएको छ । विस्थापित परिवारका घर निर्माण पूरा भइसकेको र जिल्लाकै नमुना बस्ती बनेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । 

‘माथिल्लो काप्रीको बस्ती नै बस्न अयोग्य भएपछि प्राधिकरणसँगै नमुना बस्तीका लागि गाउँपालिकाले पनि मापदण्ड बनाएको थियो । ती मापदण्ड सबै पूरा गरेर बस्ती निर्माण गरिएको छ,’ अध्यक्ष शाहीले भने, ‘अझै केही काम बाँकी छन् । केही दिनमै गाउँपालिका जिल्लाकै नमुना बस्ती घोषणा गर्ने तयारीमा छ ।’ नमुना बस्ती निर्माण समितिका अध्यक्ष रंगे सार्कीका अनुसार गाउँपालिकाले दिएको मापदण्डअनुसार घर निर्माण भएको छ ।

बस्तीमै आयआर्जनको योजना बन्दै 
नमुना बस्तीवासीको जीविकोपार्जन सहज होस् भनेर पालिकाले योजना बनाइरहेको छ । आयआर्जनसँग जोडेर स्थानीयलाई आत्मनिर्भर बनाउन विभिन्न योजना क्रमिक रूपमा कार्यान्वयनमा लैजाने पालिका अध्यक्ष शाहीले बताए । ‘बस्तीमा आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने योजनाअनुसार विभिन्न कार्यक्रम बनाएका छौँ,’ शाहीले भने, ‘सिपमूलक तालिम, तरकारी खेतीसम्बन्धी तालिम, उन्नत जातका बाख्रापालनसम्बन्धी कार्यक्रम, महिलाका लागि सिलाइबुनाइ तालिम, आधुनिक खेती सञ्चालन गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।’