
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले देश विकासका लागि नेपालले दुई ठुला छिमेकीबिच ‘भाइब्रेटिङ ब्रिज’ को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीन र तेस्रो ठुलो अर्थतन्त्र भएको भारतबाट उनीहरूले गरेको विकासको प्रत्यक्ष लाभ लिनुपर्ने उनको भनाइ छ।
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रूपमा विकास गर्नेसम्बन्धी एक छलफल कार्यक्रममा बिहीबार उनले नेपाललाई ‘बफर स्टेट’का रूपमा नभई तीव्र आर्थिक विकासका दृष्टिले ‘भाइब्रेटिङ ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएका वेला ०६४ सालमा उत्तर दक्षिण करिडोरको अवधारणा अघि सारेको भन्दै उनले त्यसले दुई छिमेकीबिच ‘भाइब्रेन्ट ब्रिज’ को काम गर्ने बताए। प्रचण्ड सरकारले आर्थिक विकासको दृष्टिकोणका साथ नेपाल–भारत र चीनलाई व्यापार, यातायात र पूर्वाधार विकासमा जोड्ने गरी उत्तर–दक्षिण करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको चर्चा पुनले गरे। हाल कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतमा पूर्वाधार विकासको काम जारी छ। ‘नेपाल विश्वको दोस्रो र तेस्रो ठुलो अर्थतन्त्रको बिचमा छ,’ पुनले भने, ‘कूटनीतिक सम्बन्ध थप सृदृढ गरेर आर्थिक विकासका लागि उत्तर र दक्षिणको अर्थतन्त्र जोड्न नेपालले ‘भाइब्रेटिङ ब्रिज’ को रूपमा काम गर्नुपर्छ।’
पुनले उत्तर–दक्षिण करिडोरलाई भौतिक पूर्वाधार र कनेक्टिभिटीका साथै धार्मिक, सांस्कृतिक साथै पर्याय पर्यटन तथा सहरीकरण र कृषि जोन विकासको अवधारणामा लैजानुपर्ने औँल्याए। ‘यस्ता करिडोरहरूले पहिला जनतालाई जोड्छ, अर्को सांस्कृतिक र आर्थिक रूपले जोड्छ,’ पुनले भने ।
फरक प्रसंगमा उनले कोभिड–१९ महामारी अगाडि सन् २०१९ मा चीनबाट १४ करोड र भारतबाट ५ करोड मानिस घुम्नका लागि विश्वका विभिन्न देश निस्किएको चर्चा गर्दै केही वर्ष रोकिएको यो क्रम आगामी वर्षबाट फेरि सुरु हुन लागेको बताए। १४ चिनियाँ र ५ करोड भारतीयमध्ये केही प्रतिशत मात्र नेपाल ल्याउन सकिए नेपालको अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने उनको भनाइ छ। नेपालले उत्पादनमूलक उद्योगमा चीन र भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने भए पनि पर्यटनमा प्रतिस्पर्धाको सम्भावना रहेको औँल्याए। ‘चीन र भारतका ‘मास प्रोडक्सन’ गर्ने उद्योगहरूसँग हामी प्रतिस्पर्धा गर्न नसकौँला,’ पुनले भने, ‘तर, हाम्रा हिमाल,संस्कृति, जातजाति, भाषा, भेषभूषा, पहाड र सभ्यताहरूले न चीन न भारत कोहीसँग प्रतिस्धर्पा गर्नुपर्दैन, हाम्रो प्रतिस्पर्धा हामीसँगै हो।’
अर्काे प्रसंगमा उनले घरेलु मदिरालाई ब्रान्डिङ गरी उद्योगको रूपमा वैधता दिने र मापदण्ड बनाएर औषधीय गुण भएको गाँजा खेती खुलाउन आफूले अर्थमन्त्रीका रूपमा चालू आर्थिक वर्षको बजेटमा समावेश गरेका कार्यक्रम वर्तमान सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाए। मुलुकको अर्थतन्त्रको विकासका लागि यी दुई वस्तुमा राज्य सञ्चालक उदार हुनैपर्ने पुनको भनाइ थियो।