१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
२o८२ असार १९ बिहीबार १३:४५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुम्कीबासस्थित विनयी खोलाको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १३:४५:oo

नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्कीबासस्थित विनयी खोलाको पुल बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ। सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले बिहीबार बिहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए। पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालनमा आएको हो। 

चिनियाँ निर्माण कम्पनीका पूर्वी खण्डका प्रोजेक्टर म्यानेजर राकेश झाले पुल निर्माणको सबै काम सकिएपछि पुलबाट यातायात सञ्चालन गरिएको बताए । गत २६ पुस गते भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासको पुरानो फलामे पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो।

पछिल्लोपटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन। जसका कारण साना तथा हलुवा सवारीसाधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारीसाधन भने वेलावेलामा अस्थायी डाइभर्सन गराएर पास गराउने गरिएको थियो । नयाँ पुल सञ्चालनमा आएसँग यात्रु तथा चालकहरूले राहत महसुस गरेकाे विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। 

दुम्कीबासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले अब दाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरि समस्या हुन सक्ने बताए । यहाँ हल्का पानी परेको वेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेकाले समस्या यथावत् छ।  

पश्चिम नेपालको लाइफलाइन भनेर चिनिने बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा समयमै काम नहुँदा यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अरू खण्डमा सहज यात्रा गर्न मिल्ने गरी काम भए पनि दाउन्ने खण्डको १३ किलोमिटर सडक अहिले अस्तव्यस्त छ । यसपालिको बर्खा र चाडपर्वमा पनि ढुक्कसँग यात्रा गर्ने माहोल दाउन्ने खण्डकै कारणले नहुने देखिएको छ। दाउन्ने क्षेत्रमै धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको भनाइ छ । 

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गतको पूर्वी खण्डमा गैँडाकोटको जयश्री, चोरमाराको गिरुबारी खोला र अरुणखोलाको अरुणखोलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ भने यहाँ पर्ने अन्य पुलहरू भने निर्माण कार्य सकिएको राकेश  झाले बताए ।त्यसैगरी, चोरमारा बजार, दुम्कीबास बजार र दाउन्ने खण्डमा अझै कालोपत्रे हुन बाँकी रहेको छ । साउन ८ गते तेस्रोपटकको सम्झौता अवधि सकिँदै छ । यसबिचमा अहिलेसम्म बुटवल नारायणगढ सडक विस्तारको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ ।