
नेपाल–भारत मैत्री संघले बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा गत जेठ २३ गते भएको आगलागीबाट प्रभावित ४० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।
सुदूरपश्चिम प्रदेश मैत्री संघको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री बुधबार प्रदान गरिएको संघका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए ।
उक्त वडाका वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा प्रत्येक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन नुहाउने साबुन, सरफ एक प्याकेट, कम्बल एक थान र त्रिपाल एक थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले जानकारी दिए । विपत्तिपछि प्रभावित परिवारको दैनिक जीवन सहज बनोस् भन्ने उद्देश्यसहित राहत सामग्री सहयोग गरिएको संघले जनाएको छ ।