१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १९ बिहीबार १२:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस वर्ष करिब ६० हजारजना डेंगु रोगबाट संक्रमित हुन सक्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १२:५८:oo

इपिडिमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेंगु संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकाले सतर्क रहन आग्रह गरेको छ  । यस वर्ष करिब ६० हजारजना डेंगु रोगबाट संक्रमित हुन सक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तर्क्रियामा विज्ञहरूले डेंगुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए  । 

कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिनाभन्दा बढी समय लामखुट्टेको लार्भा र फुलसमेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए । झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घरबाहिर निस्केको वेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरूको  समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्ने उनको भनाइ थियोे ।

यद्यपि, नगर पालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै थरी काम हुने हुँदा लगातार चार महिनासम्म नष्ट गर्ने काममा लागि रहन उनीहरूलाई अप्ठ्यारो भएको पनि उनले बताए । महाशाखाले १७ जिल्लाका १४७ पालिकासँग डेंगु रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दियो । ‘डेंगुरोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रै ले नियन्त्रण गर्न सकिँदैन, त्यसका लागि सबै निकायले हातेमालो गर्नुपर्छ,’ महाशाखा निर्देशक डा. चन्द्रभाल झाले  भने। कतिपय देशमा लामखुट्टे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएकोसमेत उनले बताए । सहरमा वर्षायामसँगै जताततै खाडल, ससाना भाँडा र जथाभावी फालिएका टायरमा पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरेभन्दा बढ्ने  पनि निर्देशक झाले बताए । उनले भने, ‘त्यसबाहेक घरघरमा फ्रिज र एसीको पानीले पनि लामखुट्टेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।’

यस वर्ष सरकारले लामखुट्टे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि १० करोड छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

 यद्यपि, जलवायु परिवर्तनको प्रभावस्वरूप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको  छ  । डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु एकदेखि तीन महिनासम्म हुन्छ ।

डेंगु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडीपछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र बान्ता हुनेसमेत हुन्छ ।  सरकारले डेंगुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस् भनेर विशेष तयारी गरेको जानकारी पनि उनले दिए ।