
व्यक्ति अपहरण गरेर बन्धक बनाई लाखौँ रकम डकैती गर्ने मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । फरार रहेका मुख्य योजनाकार विराटनगर– ११ घर भएका २६ वर्षीय कुशल पाण्डेसहित तीनजनालाई पक्राउ गरेर मोरङ प्रहरीले अपहरण तथा शरीर बन्धक अनि डाँका कसुरमा अदालतमा म्याद थप गराएर अनुसन्धान थालेको हो ।
११ असार बिहान साढे ११ बजेतिर बैंकमा पैसा जम्मा गर्न सिटी रिक्सामा जाँदै गरेका विराटनगर– १५ का २० वर्षीय विक्रमकुमार साहलाई विराटनगर– १३ रानी क्षेत्रमा ‘हामी प्रहरी हौँ’ भन्दै अपहरण गरेर तीन लाख ६४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका विराटनगर– ८ का २४ वर्षीय समीर हुसेन र विराटनगर– ६ का २६ वर्षीय आसिव अन्सारीलाई घटना भएको तीन दिनपछि १५ असारमा घटनामा प्रयोग भएको १४ प ३३३० नम्बरको स्कुटरसहित पक्राउ गरिएको थियो । तर, मुख्य योजनाकार पाण्डे भने फरार भएका थिए । पाण्डेलाई बुधबार प्रहरीले डेढ लाख रुपैयाँ नगदसहित विराटनगरस्थित उनकै कोठाबाट पक्राउ गरेर अनुसन्धान थालेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए ।
प्रहरीका अनुसार पाण्डेको समूहले साउन २०८० मा विराटनगर– १० तीनटोलीयामा चिया पसलमा बसिरहेको वेला विराटनगर– ८ का २२ वर्षीय महमद हलिमलाई तरबार प्रहार गरी गम्भीर घाइते बनाएको थियो। उक्त घटनामा प्रहरीले भारतको बिहारबाट घटनामा संलग्न विराटनगरका २२ वर्षीय अमन कुरेसी, सदाब अन्सारीलाई पक्राउ गरेको थियो । उनीसहित ६ जनालाई कर्तव्य ज्यान कसुर मुद्दा दर्ता भएर अरू पुर्पक्षमा गए पनि योजनाकार पाण्डे भने उक्त कसुरमा पनि फरारै रहेका थिए ।