१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o९:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला प्रशासनमा फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने

प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ लेखिएको पोष्टर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालयपरिसरमा पत्रकारलाई समेत फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाएकी छिन् । प्रशासन कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमतिविना फोटो, भिडियो खिच्न मनाही’ लेखिएको पोस्टर नै टाँसिएको छ । बुधबार पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँगको छलफलका क्रममा प्रजिअ श्रेष्ठले कार्यालयको सुरक्षा संवेदनशीलता र गोपनीयताको कारण यस्तो निर्णय गरिएको दाबी गरिन् ।

‘प्रशासन कार्यालय संसद्जस्तो होइन, यहाँ धेरै किसिमका मानिस आउँछन् । सबै कुराको भिडियो खिचेर सार्वजनिक गर्दा उनीहरूलाई अप्ठ्यारो पर्न सक्छ, त्यसैले अनुमति लिएर मात्र फोटो, भिडियो खिच्न दिइनेछ,’ उनले स्पष्ट पारिन्। गत असार ६ गते समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारहरूलाई भिडियो खिच्न नदिएको घटनापछि नेपाल पत्रकार महासंघ मकवानपुर र केन्द्रीय समितिले प्रेस स्वतन्त्रताको हनन भएको भन्दै विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

यसै क्रममा १२ असारमा बसेको महासंघ मकवानपुरको बैठकले प्रशासनको कदमप्रति खेद प्रकट गर्दै प्रजिअको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोली बुधबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

छलफलको क्रममा प्रजिअ श्रेष्ठले पत्रकारहरूको जिज्ञासामा उनले कार्यकक्षभित्र भने अझै पनि भिडियो खिच्न नदिने अडान दोहोर्‍याएकी थिइन् । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रजिअ श्रेष्ठको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै अनुमति लिनुपर्ने क्षेत्र कानूनले तोक्ने, तर प्रजिअको व्यक्तिगत निर्णयले नहुने बताए । उनले प्रधानमन्त्रीको कार्यालयमा समेत यस्तो प्रतिबन्ध नरहेको उल्लेख गर्दै पत्रकारलाई समाचार संकलनमा बाधा हुने गरी गरिएको कदम अनुचित भएको दाबी गरे ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहित पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताव विष्ट, नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष सुवास बिडारीलगायतका पत्रकारहरूसँगको छलफलपछि प्रजिअ श्रेष्ठले प्रशासन गेटमा टाँसिएको सूचना हटाउने प्रतिबद्धता भने जनाएकी छिन् । तर, उनले कार्यकक्षभित्र भने अलाउ नगर्ने स्पष्ट पारिन् । पत्रकार महासंघ मकवानपुरले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन चेतावनी दिँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ ।