
युवा तथा खेलकुद मन्त्रालयले २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि पठाएको ३१ वटा खेलको सूची आयोजक जापानले दर्ता गर्न अस्वीकार गरेको छ । खेलकुद मन्त्रालयले सोमबार परराष्ट्र मन्त्रालय र नेपालस्थित जापानिज दूवातासको माध्यमबाट आयोजक जापान ओलम्पिक कमिटीलाई ३१ खेलको सूची पठाएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि ३० खेलको सूची आयोजकलाई पठाएको थियो ।
प्रतियोगितामा सहभागिता जनाउन नेपालका दुई फरक निकायले खेल संख्या र सूची एसियाडमा पठाएका हुन् । जापानले आधिकारिक रूपमा एनओसीबाट खेलको सूची दर्ता गर्नुपर्ने नियम रहेको र सोहीअनुरूप आउन जवाफ भनेको छ । ‘एसियाडमा सहभागिता जनाउन ओलम्पिक कमिटीमार्फत खेल दर्ता गराउनुपर्छ । अन्य माध्यमबाट आएका खेलको सूची दर्ता हुँदैन,’ युवा तथा खेलकुद मन्त्रालयलाई आयोजकले पठाएको इमेलमा भनिएको छ, ‘एनओसीबाट आएको खेलको सूची मात्र आधिकारिक मानिनेछ । यसबाहेकका संस्थाले पठाएको सूची आधिकारिक मानिनेछैन ।’
आयोजकले एनओसीले पठाएको ३० खेलको दर्ता नियमअनुसारै दर्ता भइसकेको जनाएको छ । ‘एनओसीबाट आएको खेलको सूची समावेश गरेका छौँ,’ इमेलमा भनिएको छ । एनओसीले आयोजकलाई पठाएको सूचीमा तेक्वान्दो, फुटबल, जिम्न्यास्टिक, इक्वेस्ट्रिन, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल र रोबिङ खेल समावेश थिएन । मन्त्रालयले पठाएको सूचीमा आर्चरी, ब्रेकिन एन्ड डान्स स्पोर्टस्, बेसबल तथा सफ्टबल, र्याफ्टिङ तथा क्यानोइङ, कुरास, मोडर्न पेन्टाथलन, स्केटबोर्ड तथा स्केटिङ र स्पोर्ट क्लाइम्बिङ थिएन ।
एनओसीमार्फत आउन आग्रह
अर्को वर्ष जापानका दुई सहर आइची र नागोयामा एसियाड हुँदै छ । प्रतियोगितामा जापानले ४३ खेल समावेश गरेको छ । आइची–नागोया एसियाडका डेपुटी डाइरेक्टर जनरल तोरु कावायासीले प्रतियोगितामा सहभागी हुन अनिवार्य रूपमा ओलम्पिक कमिटीमार्फत नाम दर्ता गराउन आग्रह गरेका छन् । ‘हामी यो सल्लाह दिन्छौँ कि एसियाडमा सहभागिता जनाउन ओलम्पिक कमिटीमार्फत आउनुस् । यसबाहेकबाट आएको सूची दर्ता हुनेछैन,’ डेपुटी डाइरेक्टर जनरल कावायासीले एनओसीलाई लेखेको इमेलमा भनिएको छ, ‘यसबारे तपाईं संघहरूलाई एनओसीले दर्ता प्रक्रियाबारे जानकारी दिइसकेको छ ।’
आइओसी र ओसिएको एउटै नियम
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले पनि दर्ता प्रक्रियाको आधार एनओसीलाई नै दिएको कावायासीले जनाएका छन् । ‘आइओसी वा ओसिएले एनओसीबाट आएका खेल सूचीलाई मात्र मान्यता दिन्छ । अरूले मान्यता पाउनेछैन,’ उनले भने, ‘आइओसी र ओसिएले प्रतियोगितामा सहभागिता जनाउन एउटै नियम बनाएका छन् ।’
अन्तर्राष्ट्रिय अभ्यासअनुसारै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई एनओसीले खेल दर्ताका लागि दुईपटक पत्र पठाएको थियो । तर, दुवै निकायले एनओसीले पठाएको पत्रको जवाफ दिएका छैनन् । एसियाडको आयोजकले एनओसीले दर्ता गराएको ३० खेल दर्ता भएको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ‘मन्त्रालय र राखेपलाई एनओसीमार्फत आउन भनेको छ,’ उनले भने । एनओसीले १६ असारसम्म खेल दर्ता गर्नुपर्ने मिति रहेका कारण ३० खेलको जवाफ पठाएको उनको भनाइ छ ।
खेलकुदमन्त्रीले एनओसीसँग कुनै पनि सहकार्य नहुने अडान राख्दै आफ्नोतर्फबाट ३१ खेल दर्ता गराएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय प्रावधानअनुसार ओलम्पिकको छातामुनि हुने प्रतियोगितामा कुनै पनि देशको सहभागिता गराउने अधिकार एनओसीसँग मात्र रहने प्रावधान छ । ‘आयोजक कमिटीले सम्बन्धित देशको ओलम्पिक कमिटीबाहेक अरू कसैले गरेको अनुरोध वा दर्ता स्वीकार नगर्ने प्रस्ट छ,’ कावायासीले भने, ‘थप जिज्ञासा भए मलाई वा ओसिएको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गर्छु ।’