
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको विजेता जनकपुर बोल्ट्सले मार्की खेलाडीमा आसिफ शेखलाई निरन्तरता दिँदै रिटेन गरेको छ । जनकपुरले बुधबार सामाजिक सञ्जालमा आसिफलाई मार्कीमा निरन्तरता दिइएको जनाएको छ ।
गत सिजनमा जनकपुरको कप्तानी अनिल साहले गरेका थिए । टोलीलाई पहिलो संस्करणको च्याम्पियन बनाउने क्रममा शुभ कंसाकार, शेर मल्ल, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, हेमन्त धामी, अरनिको यादव, आकाश त्रिपाठी, विशाल सुस्लिङ, मयन यादवलगायत खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
एनपिएलको नियमावलीअनुसार प्रत्येक टोलीले दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ । गत सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको थियो ।
चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले अगस्टमा एनपिएलको मिनी अक्सन गर्नेछ ।