
एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा पहिलोपटक विराटनगरका एक व्यापारी जेल चलान भएका छन् । राजस्व छली गरेको आरोपमा दायर मुद्दामा विराटनगरको ‘न्यु सौरभ ट्रेडिङ र बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’का प्रोप्राइटर सौरभकुमार बियानीलाई आन्तरिक राजस्व कार्यालय विराटनगरले पुर्पक्षका लागि कारागार पठाएको हो ।
विराटनगर महानगरपालिका– ७ हाटखोलामामा कारोबार गर्दै आएका बियानीले विराटनगर– ३ मा हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन् । उनले बक्यौता रकम बुझाउन अटेर गरेपछि आन्तरिक राजस्व कार्यालयले १६ असारमा पुर्पक्षका लागि जेल पठाएको हो । व्यापारी बियानीलाई अदालतले १६ असारमा थुनुवा पुर्जी जारी गरेको कर अधिकृत भवानीप्रसाद दाहालले बताए ।
आन्तरिक राजस्व कार्यालय मोरङका अनुसार व्यापारी बियानीले वर्षौँदेखि बक्यौता रहेको कुल एक अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँबराबरको राजस्व छली गरेका छन् । पटक–पटक ताकेता गरे पनि कर तिर्न चासो देखाएनन् ।
यसैले राजस्व छलीको रौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो,’ आराका मोरङका कर अधिकृत भवानीप्रसादले भने ।