
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले स्थापनाको छोटो समयमा सशस्त्र प्रहरी बल नेपालले गरेका हरेक क्रियाकलापहरू प्रशंसनीय रहेको बताएकी छिन्।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै सचिव अर्यालले सशस्त्र प्रहरी महिला सङ्घले गरेका हरेक सामाजिक कार्यमासमेत आफू र मन्त्रालयको साथ र सहयोग सदैव रहिरहने प्रतिक्रिया पनि दिइन्।
सशस्त्र प्रहरी महिला सङ्घले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै सचिव अर्यालले कुनै पनि सामाजिक कार्य एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने हुँदा यस्ता कार्यमा सबैको साथ र सहयोग उत्तिकै रहनुपर्ने विश्वास व्यक्त गरिन् ।
सचिव अर्यालले सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न ठाउँमा गरेका हरेक गतिविधि महत्त्वपूर्ण भएको बताइन् ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने सशस्त्र प्रहरी परिवार महिला सङ्घले गर्दै आएका सामाजिक कार्यलाई निरन्तर दिने उल्लेख गर्दै यस्ता कार्यमा सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था तथा परोपकारी व्यक्तिबाट समन्वय र सहकार्य सदैव रहिरहने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घले वार्षिकोत्वको अवसर पारेर कर्तव्यपालनको सिलसिलमा गत जेठ २२ गते सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा दिवङ्गत भएका स्व सशस्त्र प्रहरी जवान हरदेव राजवंशीकी छोरीलाई छात्रवृृत्तिस्वरूप १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको जानकारी गराइएको थियो ।
सो अवसरमा सचिव अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायतले विभिन्न संघसस्था तथा व्यक्तिलाई कदरपदत्र तथा पुरस्कार वितरण गरेका थिए।