
नेपाली युवा टोलीले मंगलबार एसिसी पुरुष यू–१६ इस्ट जोन कपमा भुटानसँग खेल्दै छ । समूह ‘ए’मा तीन जित निकाली सेमिफाइनल स्थान पक्का गरिरहेको नेपालको लक्ष्य लगातार चौथो जित हात पार्ने हो । मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपाल र भुटानका यो समूह चरणको अन्तिम खेल हो । नेपालले इन्डोनेसियालाई तीन सय ५० रनले हराउँदा समूह ‘ए’बाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रोमा जापानलाई हराएको थियो ।
समूहकै कमजोर प्रतिद्वन्द्वीका रूपमा रहेको भुटानले यसअघिका तीनैवटै खेल गुमाएको थियो । सिंगापुर, जापान र इन्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको २१ असारमा हुनेछ । नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।