
बागमती प्रदेश सभाका प्रतिपक्षी दलहरूले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पुरक प्रस्ताव ल्याउन वा संशोन गर्न माग गरेका छन् । प्रदेश सभाका प्रतिपक्षी दलहरू माओवादी, राप्रपा र एकीकृत समाजवादीले सरकारले ल्याएको बजेट पुरक प्रस्ताव ल्याउन वा संशोधन गर्न माग गरेका हुन् ।
पत्रकारहरूसँग सोमबार कुराकानी गर्दै माओवादीका प्रमुख सचेतक रत्न ढकालले सरकारले ल्याएको बजेटमा पुरक प्रस्ताव ल्याउन वा संशोन गर्न माग गरे । उनले बजेटको निर्माण प्रक्रिया नीतिगत रूपमा त्रुटिपूर्ण रहेको र त्यसमा भएका असन्तुलन, विभेदका कारण पुरक प्रस्ताव वा संशोधन जरूरी रहेको बताए ।
‘बजेट नीतिगत रूपमा त्रुटिपूर्ण छ । बजेटका कारण सत्ता साझेदार दलहरूमै असन्तुष्टि छ भने प्रतिपक्षी नहुने कुरै भएन्,’ उनले भने, ‘यसको मुख्य कारण भनेकै त्रुटिपूर्ण बजेट निर्माण प्रक्रिया, बजेट असन्तुलन र बजेट वितरणमा भएको विभेद हो ।’ उनले सरकार आफैले ल्याएको बजेटमाथिको छलफलबाट भागेको आरोप पनि लगाए । ‘दुई तिहाइ नजिक रहेको सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल चलाउन केले रोक्यो ?’ उनले प्रश्न गरे, ‘आफैले ल्याएको बजेटमाथिको छलफलबाट आफै किन भागिरहेको छ ? यो सबैले बुझ्ने कुरा हो ।’
एकीकृत समाजवादीका बसन्त मानन्धर र राप्रपाका उपनेता गिरबहादुर तामाङले सत्तारूढ दललाई संवादका लागि आव्हान गर्दै बजेटको नीतिगत त्रुटिहरू सच्याउन माग गरे । उनीहरूले सरकार छलफल र संवादबाट भागेर लगातार प्रदेशसभा बैठक स्थगन गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरूले सरकारसँग बहस गर्ने आँट नभए नैतिक जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न चुनौती दिए ।
बजेटबारे छलफल गर्न कांग्रेस केन्द्रको निर्देशन कुर्दै सत्तारूढ दल
बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सत्तारूढ दलहरू कांग्रेस केन्द्रीय समितिको निर्देशनको प्रतिक्षामा रहेका छन् । कांग्रेस केन्द्रीय समितिको सोमबार (१७ असार) देखि सुरू भएको बैठकबाट आउने निर्देशनअनुसार मात्र बजेट माथिको छलफल अघि बढाउने रणनीतिमा सत्तारूढ दल कांग्रेस र एमालेको रहेका हुन् ।
सत्तारूढ गठबन्धनका प्रमुख दलहरू कांग्रेस र एमालेबिच पछिल्लो समय बागमती प्रदेशको राजनीतिक अवस्था र बजेट व्यवस्थापनलाई लिएर आन्तरिक छलफल तीव्र भइरहेका बेला सत्ताधारी दल यस्तो निर्णयमा पुगेको हो । एमालेका एक सांसदले कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार एमालेले पनि पार्टीस्तरमा आन्तरिक छलफल सुरू गर्ने तयारी गरेको जानकारी दिए ।
पछिल्लो समय प्रदेश सरकारले ल्याएको बजेटमाथि भइरहेको टिकाटिप्पणी र सरकारको काम प्रति केन्द्रीय तहबाट चासो व्यक्त भएको छ । कांग्रेसका एकजना सांसदले केन्द्रीय नेताहरू पनि प्रदेशको बजेट प्रति सन्तुष्ट नरहेकाले केन्द्रीय समितिको बैठकबाट आउने निर्देशनअनुसार जाने भन्नेमा पुगेको बताए । उनले प्रदेश सभा संसदीय दलको बैठक पनि प्रभावकारी बन्न नसकेको पनि दावी गरे ।
प्रदेशको सत्ता साझेदार दुवै दलमा बजेटको विषयलाई लिएर सांसदहरू बिच तिव्र असन्तुष्टि रहेको छ । संसद चलाउन दुई दलहरूबिच भएको पटक पटकको औपचारिक÷अनौपचारिक बैठकमा सहमति जुट्न नसक्दा १२ र १६ असारमा बोलाइएको बैठक बस्दै नबसी सारिएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारले ल्याएको बजेटप्रति विशेषगरी कांग्रेस र एमालेका सांसदहरूले विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । सांसदहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने योजना छनोट प्रक्रिया पारदर्शी नभएको उनीहरूको गुनासो छ । केही सांसदहरूले बजेट संशोधनको माग गर्दै बजेट प्रतिशत असहमति जनाउँदै आएका छन् । सोमबार पनि बजेट माथिको विवाद समाधान गर्न बसेको कांग्रेसको संसदीय दलको बैठक विना निश्कर्ष टुंगिएको थियो ।
एमाले संसदीय दलको बैठक समेत बस्न सकेन
सोही कारणले एमालेको संसदीय दलको बैठक समेत बस्न सकेको छैन । बागमतीमा बजेट विवादले एमालेको संसदीय दलको बैठक नै बस्न सकेको छैन । आगामी आर्थिक वर्ष ०८२÷०८३ को बजेट निर्माण प्रक्रियामा उत्पन्न विवादले एमालेको संसदीय दलको बैठक प्रभावित भएको हो । १२ असारदेखि बस्ने तयारी गरेको संसदीय दलको बैठक सञ्चालन हुन नसकेको हो । औपचारिक रूपमा १५ असारमा एमालेले संसदीय दलको बैठक बोलाए पनि बजेटमाथिको विवादले बस्न सकेन ।
प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित भएको, सांसदहरूले सिफारिस गरेका योजना हटाइएको, पहुँचवालालाई प्राथमिकता दिइएको लगायतका आरोपसहित सांसदहरूको असन्तुष्टि रहदै आएको छ । एमालेका एक सांसदका अनुसार, मन्त्रालयहरूले सिलिङ (बजेट सीमां) बमोजिम पठाएका योजनामा अर्थ मन्त्रालयले काँटछाट गरेको दावी गरे । एमालेका सांसदहरूले बजेटमा आफ्ना योजनाहरू छुटेको भन्दै नयाँ योजना समेट्न माग गरेका छन् ।
एमालेका प्रमुख सचेत मधुसुदन पौडेलले भने बजेटको बिषयलाई लिएर सधैं जस्तै असन्तुष्टि हुने गरेको बताए । उनले सत्ता साझेदार दलहरूबिच एउटै धारणा बनाएर जाने सन्दर्भमा छलफल भइरहेको उल्लेख गर्दै एकदुई दिनमै आपसी समझदारीबाट समस्या समाधान गरेर जाने दावी गरे ।
एकपटक पनि नबसी प्रदेश सभा बैठक १९ असारका लागि सारियो
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक सामेबार पनि बस्न सकेन । दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्न नसकेपछि अपरान्ह ४ बजेका लागि सारिएको थियो ।
४ बजे पनि बैठक बस्न नसक्ने भएपछि प्रदेश सभा सचिवालयले १९ असार बिहीबार विहान ११ बजेका लागि बैठक सारेको हो । कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङको अनुरोधमा बैठक १९ गते सारिएको सचिवालय स्रोतले जनाएको छ ।
१ असारमा बजेट सार्वजनिक भएपछि बजेटमाथिको छलफलका लागि १२ असारमा पहिलोपटक र १६ असारमा दोस्रोपटक प्रदेश सभा बैठक बोलाइएको छ । छलफलका १२ असारमा बोलाइएको बैठक पनि बस्न नस्कदा १६ असार सोमबारका लागि बैठक सारिएको थियो । यी दुबै समयमा एकपटक पनि बैठक बस्न सकेन् ।
१ असारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रूपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटको वितरण प्रक्रियामाथि असहमति जनाउँदै सत्तापक्षीय दलहरूले नै त्यसको विरोध गर्दै आएका छन् । सत्तारूढ कांग्रेसका सांसदहरूमै बजेटप्रति असन्तुष्टि देखिएको छ ।