१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १९:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यान कर्णालीकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १९:१५:oo

सल्यानलाई कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला सोमबार घोषणा गरिएको हो।

जिल्लाका १०वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सोमबार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

जन्मिएकादेखि १५ महिनासम्मका ३ हजार ८५९ बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए। खोप पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१४ किसिमका) खोप लगाएको पाइएको उनको भनाइ छ।

उनका अनुसार दार्मा गाउँपालिकाका ४०९, कुमाख गाउँपालिकाका ३१९, बनगाड कुपिन्डे नगरपालिकाका ४६२, सिद्ध कुमाख गाउँपालिकाका २१३, बागचौर नगरपालिकाका ५३७, छत्रेश्वरी गाउँपालिकाका ३३७, शारदा नगरपालिकाका ५८६, कालिमाटी गाउँपालिकाका ३७५, त्रिवेणी गाउँपालिकाका ३३५ र कपुरकोट गाउँपालिकाका २८६ बालबालिकाले पूर्ण खोप लगाएको उनले बताए।

जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको संख्या ८ हजार १८८ छ। छुटेका ३३ बालबालिकाहरूको खोजी गरी खोप लगाइएको रिजालले जानकारी दिए। उनका अनुसार दार्मा गाउँपालिकामा ९७०, कुमाख गाउँपालिकामा १ हजार ५५१, बनगाड कुपिन्डे नगरपालिकामा ७७८, सिद्ध कुमाख गाउँपालिकामा १५१, बागचौर नगरपालिकामा १ हजार ५२३, छत्रेश्वरी गाउँपालिकामा ३३३, शारदा नगरपालिकामा १ हजार ४९०, कालिमाटी गाउँपालिकामा १ हजार २०५, त्रिवेणी गाउँपालिकामा ८८४ र कपुरकोट गाउँपालिकामा १८३ बालबालिका (१६ देखि ५९ महिनासम्मका)ले पूर्ण खोप पाएका छन्।

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाले बताए। सल्यानलाई २०७९ भदौ १ गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा हुँदै आइरहेको छ।