१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार १६ सोमबार १४:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रामेछापमा पानी नपर्दा २२ प्रतिशत मात्रै धान रोपाइँ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १४:५o:oo

देशका विभिन्न स्थानमा वर्षापछि बाढीपहिरोबाट धेरै धनजनको क्षति भइरहेको समाचार दिनहुँ आइरहँदा रामेछापमा भने पानीकै अभावमा ७८ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन।

कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी (कुर्मी)का अनुसार जिल्लामा हालसम्म २२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। बाँकी ७८ प्रतिशत भूभागमा किसानको खेत अझै बाँझो छ।

कतिपय किसान पानी पर्ला र खेत रोपौँला भनेर खेत जोतेर ठिक्क पारेर राखेका छन् भने केही किसान पानी परेपछि एकैपटक खेत जोत्ने र रोपाइँ गर्ने प्रतीक्षामा छन्। रोपाइँ सकेका किसानको अनुहारमा पनि त्यति खुसियाली भने छैन। रोपेको धान पानी नहुँदा सुक्न थाल्दा किसान दिनहुँ बादलले ढाकेको आकाशतर्फ फर्केर दिन कटाउन थालेका छन्।

हाल सिँचाइ सुविधा भएका दोरम्बा शैलुङ गाउँपालिका– ३, टोकरपुरको रजमनटानर फाँट, रामेछाप नगरपालिका– २, साँघुटार फाँट, लिखु तामाकोशी गाउँपालिका– २, सैपुको शिरीषे फाँट, खाँडादेवी गाउँपालिका– ४, पकरवासको माडीफाँट, मन्थली नगरपालिका– १ को माडीफाँट, सानिमदौ फाँट र तामाकोशी नदी किनारका फाँटहरू र वडा नं. ६ को कुनौरीलगायतका फाँटहरूमा भने रोपाइँ गर्ने काम भइरहेको छ।

यसबाहेक पानीको अभाव भएका र आकासेपानीको भरमा धान रोपाइँ गर्नुपर्ने अधिकांश किसान आकाशबाट पानी झर्नासाथ रोपाइँ गर्ने दाउमा बसेका छन्। पानी नपर्दा ग्रामीण भेगका अधिकांश पाखे खेतहरू बाँझै छन्। 

रामेछापमा कुल सात हजार ८५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। खेती गर्ने किसानलाई कहिले पानी त कहिले खेतबारीमा राख्ने रासायनिक मलले सधैँ पिरोल्ने गरेको छ। किसानलाई सरकारले बर्सेनि खेती लगाउने समयमा मलसँगै बिउसमेत उपलब्ध गराउन नसक्दा किसानहरू अन्नबाली लगाउने वेलामा चिन्तित हुने गरेका छन्।