१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १४ शनिबार ११:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइईमा​​​​​​​ जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१

२३ असारभित्र पुनर्योग, २९ साउनदेखि मौका परीक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार ११:५४:oo

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । 

नियमित परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३८.१८ अर्थात् एक लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा भने रद्द भएको बोर्डले जनाएको छ । ७ चैत ०८१ देखि १९ चैतसम्म सञ्चालन भएको परीक्षाको नतिजामा गत वर्षभन्दा १३.९५ प्रतिशत सुधार देखिएको छ । गत वर्ष ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । 

जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१

एसइईमा सबैभन्दा उच्च अंक जिपिए ४ ल्याउने विद्यार्थी संख्या करिब एक हजार छ । नतिजाअनुसार जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१ छ । परीक्षा दिएका विद्यार्थीका आधारमा पनि उच्च स्कोर ल्याउने यो संख्या उत्कृष्ट मानिन्छ । गत वर्ष बोर्डले उच्च जिपिए ल्याउने विद्यार्थीको अंक सार्वजनिक गरेको थिएन । 

गणितमा सबैभन्दा बढी कमजोर 
विषयगत रूपमा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक लाख २८ हजार २१५ विद्यार्थीले गणितमा ननग्रेडेड अंक पाएका छन् । गत वर्ष पनि गणित विषयमै सबैभन्दा धेरै ननग्रेडेड संख्या थियो । ‘यसपालि पनि गणितमा विद्यार्थी कमजोर देखिए,’ बोर्ड अध्यक्ष शर्माले भने । उनका अनुसार गणितपछि अंग्रेजीमा ८० हजार ६७२ जना, विज्ञानमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अतिरिक्त गणितमा १८ हजार २२२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । 

कुन प्रदेशमा नतिजा कस्तो ? 
बोर्डका अनुसार परीक्षामा सबैभन्दा धेरै सहभागी बागमती प्रदेशका विद्यार्थी थिए । जसमा एक लाख १९ हजार ५१७ सहभागी भएकोमा २० हजार ९४६ जना ननग्रेडेड भएका छन् । त्यस्तै, कोशी प्रदेशबाट ४७ हजार ८३५ विद्यार्थी सहभागी रहेकोमा २३ हजार ६३१ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट ५९ हजार ७४९ विद्यार्थी सहभागी रहेकोमा ४२ हजार ७७९ विद्यार्थी ननग्रेडेड भएका छन् । 

गण्डकी प्रदेशबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या ४७ हजार ८४९ थियो । जहाँ ११ हजार ३२८ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट ५७ हजार ६८७ विद्यार्थी सहभागी रहेकोमा २८ हजार २७४ विद्यार्थी ननग्रेडेड भएका छन् । कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी सहभागी रहेकोमा १३ हजार ७६५ विद्यार्थी ननग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी थिए भने २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् । 

२३ असारभित्र पुनर्योग, २९ साउनदेखि मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडेड विद्यार्थीका लागि २९ साउनदेखि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । ननग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । त्यस्तै, बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा २३ असारभित्र पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ । आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । 

सामुदायिक र निजीको तथ्यांक भएन सार्वजनिक 
बोर्डले उत्तीर्ण हुनेमध्ये सामुदायिक र निजीका कति विद्यार्थी भन्ने तुलनात्मक तथ्यांक सार्वजनिक गरेको छैन । गत वर्ष पनि बोर्डले यस्तो सूचना सार्वजनिक गरेको थिएन । बोर्डका अध्यक्ष शर्माले केही दिनमा तुलना र मूल्यांकन गरिने बताए ।