१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ असार ३ मंगलबार o८:१७:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली महिला र पुरुषको यौन चाहनामा ह्रास : ३० वर्षमाथिका ७२% पुरुष  र ६७% महिलामा यौन दुर्बलता

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार o८:१७:oo

नेपाली महिला र पुरुषको यौन चाहनामा अत्यधिक ह्रास आएको अध्ययनले देखाएको छ । नेपालमा पहिलोपटक गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता अर्थात् यौन चाहना नहुने गरेको तथ्यले देखाएको हो ।

सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूमा गम्भीर दुर्बलता देखाएको छ । २ प्रतिशत पुरुषमा सामान्य प्रकारको यौन दुर्बलता पाइएको छ । यौन दुर्बलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको अध्ययनमा उल्लेख छ । अध्ययनका क्रममा ९२ प्रतिशत महिला र पुरुषले यौन चाहना नै नहुने गरेको बताएका छन् । यौन चाहना नहुँदा उनीहरूको जीवन तनावपूर्ण भएकोसमेत अध्ययनका क्रममा बताएका थिए ।

डा. खेमबहादुर कार्की, अनुसन्धानकर्ता 
यौन दुर्बलताको दर विश्वमै बढ्दै गएको देखिन्छ, नेपालमा झन् डरलाग्दो छ, यसले प्रजनन स्वास्थ्य मात्रै होइन, अन्य थुप्रै क्षेत्रमा असर पुर्‍याउँछ । हामीले गरेको अध्ययनमा करिब ६६ प्रतिशत महिलाले यौनसम्पर्कको समयमा पीडा महसुस गर्ने गरेको पाइएको छ । अध्ययनअनुसार नेपालमा यौन शिक्षाबारे अझै सोचविचार गर्नुपर्ने अवस्था देखिन्छ ।

स्थानीय एकीकृत विकास समाज नेपाल, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषलगायतका संस्थाहरूको सहयोगमा अध्ययन गरिएको थियो । सातवटै प्रदेश र तीनवटै भौगोलिक क्षेत्र समेटिने गरी अध्ययन गरिएको थियो । अध्ययनका लागि ३४ जिल्लाका तीन हजार तीन सय ८२ जना विवाहित महिला र पुरुषहरूमा गरिएको अध्ययनले लुकेको र भित्रभित्र भयावह रूपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीले जानकारी दिए । यौन चाहना नहुनुले स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्ने चिकित्सकहरूको भनाइ छ ।

सन् २०२४ मा गरेको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा सोमबार सार्वजनिक गरिएको थियो । ‘यौन दुर्बलताको दर विश्वमै बढ्दै गएको देखिन्छ, नेपालमा झन् डरलाग्दो छ, यसले प्रजनन स्वास्थ्य मात्रै होइन, अन्य थुप्रै क्षेत्रमा असर पुर्‍याउँछ,’ अनुसन्धानकर्ता कार्कीले भने, ‘हामीले गरेको अध्ययनमा करिब ६६ प्रतिशत महिलाले यौनसम्पर्कको समयमा पीडा महसुस गर्ने गरेको पाइएको छ । अध्ययनअनुसार नेपालमा यौन शिक्षाबारे अझै सोचविचार गर्नुपर्ने अवस्था देखिन्छ ।’

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा सरदर आधाजति मानिसमा कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको पाइन्छ । जसमध्ये एसियाली देशका नागरिकमा यो दर झन् उच्च छ । सन् २०११ मा प्रकाशित अनुसन्धानमूलक लेखअनुसार मलेसियाका पुरुषमा २७.६९ प्रतिशतसम्म, सिंगापुरका पुरुषमा ५१.७३ प्रतिशतसम्म र हङकङका पुरुषमा ६४ प्रतिशतसम्ममा लिंग उत्तेजित नहुने समस्या देखाइएको थियो । सिंगापुरका ५६ प्रतिशत महिलामा यौन दुर्बलता रहेको तथ्यांक देखिएको थियो ।

नेपालमा भने यसअघि यस सम्बन्धमा अध्ययन नभएकाले यौन दुर्बलताको अवस्था थाहा थिएन । अध्ययनअनुसार यौन दुर्बलता हुने महिलामा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या देखिन्छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले अध्ययनले जनसंख्या यौन स्वास्थ्यमा काम गर्न थप दिशानिर्देश गरेको बताए । 

‘अध्ययनले उठाएको विषय नै गम्भीर छ, यसमा हामी गहनताका साथ काम गर्छौँ, यो अध्ययनले देखाएको विषयमा योजना बनाएका काम गर्छौँ,’ उनले भने । 

अध्ययनमा संलग्न डा. कार्कीले यौनसम्पर्क गर्ने जोडीमध्ये एकले आनन्द प्राप्त गर्ने अर्कोले नगर्ने अवस्थाले सम्बन्धमा चिसोपन ल्याउनेसमेत बताए । ‘कतिपयको सम्बन्ध यही कारण पनि चिसो भएको पाइन्छ,’ उनले भने, ‘यहीँबाट घरेलु हिंसाको सुरुवात हुन्छ, प्रत्येक चारजना पुरुषमध्ये तीनजना र प्रत्येक पाँचजना महिलामध्ये तीनजनाले समग्रमा यौन सन्तुष्टि प्राप्त गर्नै सक्दैनन् ।’ 

सर्वेक्षणअनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश (७३%) र त्यसपछि कर्णाली प्रदेश (७१%) मा छ । डा. कार्कीका अनुुसार यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव हो, जुन गरिबी र अभावसँग जोडिएको हुन्छ । अध्ययनले १८ वा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर (६८%) २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर (६१%) भन्दा उच्च रहेको देखाएको छ । त्यसैले बालविवाहले महिला तथा पुरुषको यौन जीवनमा पनि नकारात्मक प्रभाव पारेको अध्ययनले जनाएको छ ।

चिकित्सा अध्ययन संस्थान महाराजगन्जका डिन प्रा.डा. मोहनराज शर्माले सबै विषयमा लेखेर बोल्ने तथा यौन स्वास्थ्यको विषयमा खुलेर नबोल्दा नेपालमा समस्या देखिएको बताए । ‘नेपालमा यौन स्वास्थ्य तथा यससम्बन्धी शिक्षाबारे बढी ध्यान दिन जरुरी छ, जनचेतनाको अझै आवश्यकता छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाको अध्ययनअनुसार यसबारेमा मन्त्रालयले रणनीतिक काम गरेको बताए ।

अध्ययनले सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाउने देखाएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामध्ये ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ । त्यसैगरी, मदिरा सेवन गर्नेहरूमा (६९%) नगर्नेहरूमा (५९%) भन्दा बढी छ । सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिहरूमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्बलता देखिएको छ । त्यस्तै, उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा बढी भएका व्यक्तिहरूमा पनि यौन दुर्बलताको अवस्था बढी नै देखिएको छ । फलफूल र सागसब्जीसहितको स्वस्थकर खाना खानेमा (६५%)भन्दा यस्तो खाना कम खानेमा (६८%) यौन दुर्बलताको दर उच्च देखिएको छ । व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खानुलाई स्वस्थकर खाना मानिन्छ । स्वस्थकर खाना खानेमा यौन दुर्बलताको दर कम देखिएबाट अस्वस्थकर खानपिनले पनि यौन दुर्बलता बढाएको अध्ययनले देखाएको छ ।

के हो यौन दुर्बलता ? 
यौन दुर्बलता जनस्वास्थ्यको एक गम्भीर सवाल रहेको डा. कार्की बताउँछन् । गुणस्तरीय जीवन अर्थात् सुखी र खुसी जीवनयापनका लागि यौन स्वास्थ्य महत्वपूर्ण मानिन्छ । यौन स्वास्थ्य भन्नाले यौन भावना, इच्छा, सम्बन्ध, विश्वास, आत्मसम्मान हो । यौन दुर्बलता भनेको यौन जीवनमा समस्या आउनु हो ।

यौन इच्छाको कमी हुने, यौन उत्तेजना कम हुने, चरम आनन्दको अवस्थामा नपुग्ने, पीडादायी यौनसम्पर्क हुने, यौन आनन्द नभएर सन्तुष्टि हुन नसक्ने अवस्थाले व्यक्तिको यौन आनन्द वा सन्तुष्टि अनुभव गर्ने क्षमतालाई घटाएको हुन्छ, यसलाई नै यौन दुर्बलताको अवस्था मानिन्छ ।

मानिसको यौनजीवन सफल र सुखी हुँदा मात्रै जीवनले पूर्णता प्राप्त गर्छ । यौन दुर्बलता हुनुमा शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा भावनात्मक कारणबाट सिर्जित जटिल परिस्थिति मुख्य कारक हुन सक्छन् ।

जसमा तनाव, दीर्घरोग, औषधिको असर, हार्मोनको गडबडी र कुनै दर्दनाक घटनापछिको अवस्थासमेत रहेका हुन्छन् । कार्कीले यौन स्वास्थ्यमा कुनै समस्या आएमा उपचार गर्नुपर्ने र खुलेर बताउने बानीले यसको समस्या हल गर्ने बताए । उनले व्यक्त नगर्ने बानीका कारण पनि यौन दुर्बलता बढेको बताए ।