१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
माङसेबुङ– ४ स्थित किराँत पदमार्ग ।
Invalid date format o९:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पदयात्रीको पर्खाइमा किराँत पदमार्ग

करिब ३५ लाख खर्चेर पदमार्ग निर्माण, स्वास्थ्यलाई पर्यटनसँग जोड्ने प्रयास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

विकासको दृष्टिकोणले पछि परेको इलामको माङसेबुङ गाउँपालिकाले पर्यटकीय सम्भावनाको खोजी गर्न थालेको छ । माङसेबुङले किराँत पदमार्ग निर्माणसँगै अरू पर्यटकीय गन्तव्यको पहिचान र संरक्षणमा केही समययता तीव्रता दिँदै आएको छ । 

तराईको जिल्ला झापासँग नजिकै रहेको माङसबेुङले पर्यटकलाई आकर्षित गर्न पदमार्ग पहिचान र निर्माण गरेको हो । प्राकृतिक विविधता रहेको माङसेबुङ पर्यटकको आकर्षणको केन्द्र बन्ने गाउँपालिकाको निष्कर्ष छ । माङसेबुङ चुरेदेखि पहाडी क्षेत्रसम्म फैलिएको छ । यही विविधतालाई पर्यटकीय गन्तव्यमा रूपान्तरण गरेर गाउँपालिकाले स्थानीयको जीवनस्तर उकास्ने प्रयास गरेको हो । 

झापाको दमकबाट करिब १४ किलोमिटरमा रहेको माङसेबुङ–४ मा पदमार्ग पहिचान गरेर गाउँपालिकाले किराँत पदमार्ग निर्माण गरेको हो । झापाको दमकबाट नजिकै भएका कारण यो पदमार्ग गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’ भएको माङसेबुङ–४ का वडाध्यक्ष नवीन योङहाङले बताए । ‘सहरमा प्रकृति भेटिँदैन । प्राकृतिक सुन्दरता खोज्न र प्रकृतिसँग रमाउन मान्छेहरू गाउँ पस्छन् । तसर्थ, हामीले यो योजना अघि सारेका हौँ । यो माङसेबुङको ठुलो सपना हो,’ उनले भने, ‘यसले पदयात्रीको माध्यमबाट ग्रामीण जीवनस्तर पनि सुधार गर्छ ।’ 

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) हुँदै करिब १४ किलोमिटर सवारी साधनमा यात्रा गरेपछि माङसेबुङ–४ को सिङफेरे पुगिन्छ । सिङफेरेबाट करिब ६ किलोमिटरको यो पदमार्गमा यात्रा गर्न सकिन्छ । करिब अढाई घण्टाको यात्रापछि समुद्री सतहदेखि ६ सय मिटरको उच्चाइमा रहेको ऐतिहासिकस्थल अन्धराजा पुगिन्छ । पदमार्गमा चुरेका ससाना तर सुन्दर पहाड तथा जंगल देखिन्छ । यसले पर्यटकलाई थप आकर्षित गर्ने वडाध्यक्ष योङहाङको भनाइ छ । करिब पाँच घण्टा पैदल यात्रामा गर्दा पदमार्गको दुइतर्फ यात्रा पूरा हुने उनी बताउँछन् । ‘यो पदमार्ग अघिल्लो आर्थिक वर्षमा मात्र निर्माण गरिएको हो । तसर्थ, यसको प्रचार–प्रसार खासै हुन सकेको छैन । केही पदयात्री आइरहेका छन् । तर, अपेक्षाकृत छैनन् । किराँत पदमार्गले पदयात्रीको प्रतीक्षा गरिरहेको छ ।’

किराँत पदमार्ग निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ मा नेपाल पर्यटन बोर्डको जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना, गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमार्फत जम्मा ३५ लाख खर्च भएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले जानकारी दिए । उक्त बजेटले पदमार्ग निर्माण, शौचालय, गन्तव्यस्थलमा गेट, पदमार्गमा रहेको अँधेरी झरनालाई व्यवस्थित गर्ने काम र डस्टबिन राख्ने काम गरिएको उनले बताए । ‘यो पदमार्गमा गोरेटो बाटोसम्म थिएन । हामीले पहिचान गरेर निर्माण गरेका हौँ । यसको भविष्य राम्रो देखेका छौँ,’ उनले भने, ‘यसले माङसेबुङवासीको जीवनस्तर उकास्छ भन्ने अपेक्षा लिएका छौँ । पदयात्रीलाई सहज होस् भनेर पदमार्गमा स्थानीयलाई पसलसमेत राख्न प्रोत्साहन गर्दै छौँ ।’

करिब तीन किलोमिटर यात्रा गरेपछि पदमार्गमा अँधेरी झरना पर्छ । यहाँ १२ महिना नै पानी झर्छ । यद्यपि, सुक्खा मौसमको समयमा केही सानो भए पनि व्यवस्थित गर्न गाउँपालिका लागि परेको उपाध्यक्ष नेम्वाङ बताउँछन् । ‘झरनामा अहिले पनि सामान्य पोखरी निर्माण गरेका छौँ,’ उनले भने, ‘गाउँपालिकाको आगामी बजेटमा राखेर १२ महिना नै पौडी खेल्न सक्ने ठाउँ बनाउँछौँ । यसले पदयात्रीलाई थप आकर्षण गर्ने अपेक्षा राखेका छौँ ।’

पदमार्ग निर्माणपछि पनि यसलाई स्तरोन्नतिको काम गर्दै आएको माङसेबुङ–४ वडाध्यक्ष नवीन योङहाङ बताउँछन् । ‘यो पदमार्गलाई अझै व्यवस्थित बनाउँदै जान्छौँ । निर्माणपछि पनि हामीले चालू आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत दुई लाख खर्च गरेर स्तरोन्नति गरेका छौँ,’ उनले भने, ‘आगामी वर्षमा पनि स्तरोन्नति जारी राख्छौँ । पदयात्रीलाई सजिलो बनाउन बजेट व्यवस्थापन गरेर थप काम गर्नेछौँ ।’