१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार ११:५७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमतीको आर्थिक वृद्धिदर ५.१८%, सुदूरपश्चिमको सबैभन्दा कम 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार ११:५७:oo
  • बलियो अर्थतन्त्र भएको बागमती र कमजोर आर्थिक वृद्धिदरको प्रक्षेपणसहित सुदूरपश्चिम सभामा आर्थिक सर्वेक्षण पेस भएको छ । जिडिपीमा बागमतीको योगदान ३६.५२ प्रतिशत र सुदूरपश्चिमको ७.०३ प्रतिशत रहने अनुमान छ ।

बागमती प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालू आर्थिक वर्ष ०८१/८२ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।

मन्त्री काफ्लेका अनुसार बागमतीको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) २२ खर्ब ३० अर्ब रहने अनुमान छ । मुलुकको जिडिपीमा बागमतीको ३६.५२ प्रतिशत योगदान रहेको अनुमान छ । बागमतीको प्रतिव्यक्ति आय दुई हजार ६ सय २० डलर रहेको छ । सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ ।

चालूतर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षणअनुसार सवारीसाधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म सात अर्ब २२ करोड रुपैयाँ संकलन भइसकेको छ । 

राष्ट्र बैंकले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशनअनुसार फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ । सर्वेक्षणअनुुसार प्रदेशका ९९.९७ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । राष्ट्रियस्तरमा तीन हजार पाँच सय १२ मेगावाट विद्युत् उत्पादन भएकोमा एक हजार पाँच सय ८८ मेगावाट (४५.२ प्रतिशत) बागमतीमा उत्पादन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत योगदान रहेको प्रतिवेदनमा उल्लेख छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको छ ।

प्रदेशको ४४.५२ प्रतिशत जनसंख्या (२७ लाख २३ हजार) कृषि पेसामा आबद्ध रहेको छ । फागुनसम्म तीन लाख ५२ हजार हेक्टरमा खाद्यान्न, २९ हजार हेक्टरमा तेलहन र ३१ हजार हेक्टरमा तरकारी बाली लगाइएको छ । सहुलियत ऋण कार्यक्रमअन्तर्गत तीन अर्ब ३० करोड रुपैयाँ लगानी भएकोमा एक अर्ब ८१ करोड रुपैयाँ फिर्ता भएको छ ।

बागमती प्रदेशमा नेपालको कुल वन क्षेत्रको १७.०५ प्रतिशत हिस्सा रहेको छ । देशभरका कुल बैंक तथा वित्तीय संस्थाका ११ हजार पाँच सय ४३ शाखामध्ये २६ प्रतिशत (तीन हजार ४१ शाखा) बागमतीमा छन् । बागमती प्रदेशको वित्तीय साक्षरता दर ६४.५ प्रतिशत पुगेको छ । 

बिमाका कुल दुई हजार नौ सय ९२ शाखामध्ये बागमती प्रदेशमा आठ सय ४० शाखा छन् । बागमतीमा रहेका तीन हजार दुई सय २९ वटा सहकारी संस्थामध्ये काठमाडौं जिल्लामा एक हजार ६ सय ६२ वटा छन् । फागुनसम्म बागमती प्रदेशमा ९१ हजार आठ सय ४९ बेरोजगार सूचीकृत छन् । जसमध्ये ६८ हजार सात सय ७१ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा सहभागी भएका छन् । 

बागमतीमा गरिबीको रेखामुनि बस्ने जनसंख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबीको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्ष ०८१/८२ मा सुदूरपश्चिमको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सबैभन्दा कम हुने आकलन गरिएको छ । प्रदेश सभामा शुक्रबार प्रस्तुत चालू आर्थिक वर्षको सर्वेक्षणमा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३२ प्रतिशत रहने उल्लेख छ । सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशको ५.५१ प्रतिशत रहने अनुमान छ ।

प्रदेश सभामा सर्वेक्षण प्रस्तुत गर्दै आथिक मामिलामन्त्री बहादुरसिंह थापाले देशको कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान ७.०३ प्रतिशत रहने अनुमान रहेको बताए । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार चार सय ९६ अमेरिकी डलर हुने अनुमान रहेकोमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार एक सय ५३ डलर रहने अनुमान छ, जुन गत वर्षको तुलनामा २.७६ प्रतिशतले वृद्धि हो ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३४.९५ प्रतिशत, द्वितीय क्षेत्रको १२.३० र तृतीय क्षेत्रको ५२.७५ प्रतिशत रहने अनुमान छ । फागुन मसान्तसम्म प्रदेशभर लघुवित्त तथा वित्तीय संख्याको शाखा संख्या आठ सय ४९ रहेको मन्त्री थापाले जानकारी दिए ।

सर्वेक्षणअनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एक खर्ब ४४ अर्ब रुपैयाँ र कर्जा प्रवाह एक खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । मन्त्री थापाले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा सुदूरपश्चिमको योगदान २.१५ र कुल कर्जा प्रवाहमा २.८२ प्रतिशत मात्र रहेको बताए । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा पनि बढ्दो अनुपातमा रहेको उनले बताए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको निष्क्रिय कर्जाको अनुपात क्रमशः ४.७३, ५.११ र १२.८५ प्रतिशत रहेको मन्त्री थापाले प्रस्तुत गरे ।

सुदूरपश्चिममा फागुन मसान्तसम्म बिमा कम्पनीको शाखा दुई सय ६५ र बिमा सेवा पुगेको जनसंख्याको अनुपान १८.०९ प्रतिशत रहेको छ । गत वर्षको फागुन मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्मको बिमालेख संख्या ३.३ प्रतिशतले ह्रास आएको छ भने बिमा शुल्क आर्जन १२.७० प्रतिशतले बढ्न गई सात अर्ब ४६ करोड १३ लाख पुगेको छ ।

मन्त्री थापाले फागुन मसान्तसम्म सामाजिक सुरक्षा कोषमा १५ नयाँ रोजगार दाता र सात सय १० नयाँ योगदानकर्ता थप भई कुल रोजगारदाताको संख्या दुई सय ९८ पुगेको जानकारी दिए । त्यस्तै, कुल योगदानकर्ताको संख्या दुई हजार आठ सय ५८ पुगेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका पाँच लाख ६८ हजार एक सय ८८ योगदानकर्तामध्ये सुदूरपश्चिमको योगदानकर्ताको संख्या ०.५ प्रतिशत मात्र रहेको उल्लेख छ । उद्योगको संख्या एक हजार ६ सय ३१ पुगेको छ । ती उद्योगमा कुल प्रस्तावित लगानी दुई अर्ब ६४ करोड ६० लाख र प्रस्तावित रोजगारी संख्या पाँच हजार सात सय ७७ रहेको मन्त्री थापाले जानकारी दिए । यो प्रदेशमा दर्ता भएका उद्योगको सख्या ५४ हजार नौ सय ७१ पुगेको छ । ६ किलोमिटर तटबन्ध निर्माण भएको र पाँच हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको जनाइएको छ ।