१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार २o:२६:oo
Read Time : > 1 मिनेट
समाचार

भारतीय सहयोगमा ३३ जिल्लाका स्वास्थ्यसंस्थालाई ४० एम्बुलेन्स हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार २o:२६:oo

भारत सरकारका तर्फबाट शनिबार नेपालका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगन्जस्थित भारतको महावाणिज्य दूतावास तथा  पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयबाट एकैसाथ एम्बुलेन्स हस्तान्तरण गरिएको छ। 

भारतीय राजदूतावासका अनुसार सातै प्रदेशका ३३ जिल्लामा ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको छ। यीमध्ये काठमाडौंमा २२ वटा, वीरगन्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण भएको दूतावासका प्रवक्ता वशिष्ठ नन्दनले जानकारी दिए।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावासका  नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारीसाधनहरूको चाबी हस्तान्तरण गरे। कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक प्रतिनिधिहरू र समाजसेवीहरू उपस्थित थिए।

नियोग उप–प्रमुख श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई मजबुत बनाउन नेपाल–भारत विकास साझेदारीअन्तर्गत उपहारस्वरूप एम्बुलेन्स प्रदान भएको बताए । उनले भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक रहेको बताए। दुई देशबिचको समझदारी सात दशकमा झनै विस्तार भएको उनको भनाई थियो। 

‘भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नेपालका विभिन्न भागहरुमा रहेका विभिन्न लाभार्थी संस्थाहरुलाई तीन दशकभन्दा बढी समयदेखि एम्बुलेन्स उपहारस्वरुप प्रदान गर्दै आएको छ, ’ दूतावासले भनेको छ । भातले सन् १९९४ यता आज उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्ससहित भारत सरकारले नेपालभरि १ हजार ४९ एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ। 

दूतावासका अनुसार आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ। सन् २०२२ मा निर्वाचन सञ्चालनका लागि कानुन कार्यान्वयन गर्ने निकायहरू र नेपालको निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिएको थियो। हालसालै ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन भारतले परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन उपहारस्वरूप प्रदान गरेको थियो। 

‘भारत र नेपालबिच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबिचको निकटतालाई प्रतिबिम्बित गर्दछ। यस्ता बन्दोबस्तीका व्यवस्थाहरूको विस्तारले नेपालको विकास र दुवै देशका जनताबिचको सम्बन्धलाई अझ सुदृढ पार्न भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।