
विपतसँग सामना गर्नका लागि बेलौरी नगरका युवा स्वयंसेवकलाई तालिम दिन लागिएको छ। बेलौरी नगरपालिका विपत् व्यवस्थापन शाखाले विपत् प्रतिकार्यका लागि नगरका युवाहरूलाई स्वयंसेवक तालिम दिन लागेको हो । बेलौरी नगरपालिका विपत् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले गत मंगलबारदेखि एकहप्ते तालिम सञ्चालन गरिएको बताए ।
उनका अनुसार नगरका १० वडामध्ये पहिलो चरणअन्तर्गत बढी विपत् प्रभावित २, ५, ६, ८ र १० वडाहरूका १० जनाका दले ५० जनालाई तालिम दिन लागेको बताए । दोस्रोपटक बाँकी वडाहरूका स्थानीय युवाहरूलाई तालिम दिने बताए। तालिममा बाढी, डुबान, कटान, आगलागी, भूकम्पसहितका विविध प्रकृतिका विपत् पूर्वतयारी, विपतका वेला उद्धारदेखि विपतपश्चात् पुनर्स्थानाका विषयमा प्रशिक्षण दिन लागेको बताए।
सशस्त्र प्रहरी बलले प्रशिक्षण दिन लागेको बताए । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका इन्चार्ज एसपी लोकेन्द्र भट्टले विपत् प्रतिकार्यका लागि समुदायकै युवाहरूलाई तालिम आवश्यक रहेकोे औँल्याए। बेलौरी नगरका मेयर पोतीलाल चौधरीले सबै प्रकृतिका विपत्, प्रकोपबाट मानवीय तथा भौतिक क्षति रोक्नका लागि सामुदाय स्तरबाटै तालिम सञ्चालन गर्न लागेको बताए ।
मेयर चौधरीले विपत् प्रतिकार्यदेखिका कार्यमा समुदाय सक्षम बनाउन तालिम दिन लागेको बताए । मेयर चौधरीले तालिममा सिकेका विषयवस्तु विपतका वेला व्यावहारिक कार्यान्वयन गर्नसमेत आह्वान गरेका छन् । आगामी वर्षहरूमा टोलस्तरमा समेत तालिम दिएर विपत् प्रतिकार्यात्मक कामकाज सहज बनाउने बताए । पहिलोपटक विपत् व्यवस्थापन तालिम पाएपछि स्थानीय युवाले आगामी दिनमा विपत् प्रतिकार्यमा खटिने अनुभव व्यक्त गरेका छन् ।