
सुदूरपश्चिम सदस्यसचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। प्रदेश मन्त्रिपरिषद् बैठकले खड्कालाई सदस्यसचिव नियुक्त गर्ने निर्णय आज गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सामाजिक विकास मन्त्रालयको सिफारिसमा खड्कालाई सदस्यसचिव नियुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिए । खेल क्षेत्रमा लामो अनुभव भएका खड्का हक्की र फुटबलका पूर्वखेलाडी हुन्।
उनले हक्कीको एउटा र फुटबलको आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर काम गरेको अनुभव पनि खड्कासँग छ । उनी यसअघि कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष र क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ का कोषाध्यक्ष थिए ।
तत्कालीन सदस्यसचिव दीपकबहादुर सिंहको कार्यकाल सकिएपछि करिब तीन महिनादेखि परिषद् सदस्यसचिवविहीन थियो । खड्का कांग्रेसको कोटाबाट सदस्यसचिव नियुक्त भएका हुन् ।