
डोनाल्ड ट्रम्पलाई आफ्नो शक्ति प्रदर्शनका नयाँ–नयाँ उपायको कहिले कमी नहुने रहेछ । अहिले भन्सार शुल्कमा विराम लागेको, उनको भाषामा ‘विशाल, सुन्दर बिल (विधेयक)’ मा गतिरोध देखिएको र अति घनिष्ट अरबपति ‘टेक ब्रो’(प्रविधि उद्योगका मालिक) नै उनीविरुद्ध लागेका वेला उनले शक्ति प्रदर्शनको नयाँ मार्ग फेला पारेका छन् । शुक्रबार बिहान अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तनकारी निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट(आइसिई)’ को आह्वानमा संघीय गृह मामलिा हेर्ने ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटी (डिएचएस)’, एफबिआई र ‘ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसन (डिइए)’का संघीय एजेन्टहरूले लस एन्जलस सहरमा व्यापक छापा मारे ।
शुक्रबार मुख्यतः कागजातविहीन आप्रवासी काम गर्ने सम्भावित कार्यस्थलमा छापा मारिएका थिए । फरक–फरक तथ्यांक बाहिरिए पनि धेरै स्रोतले त्यस क्रममा १२१ जना आप्रवासी पक्राउ गरेको बताएका छन् । तर, लगत्तै संघीय एजेन्टविरुद्ध प्रदर्शन भयो । प्रदर्शनकारीले एजेन्टविरुद्ध नाराबाजी गर्नेदेखि अन्डा फ्याँकेर विरोध जनाए । दंगा रोक्दा लगाउने पोसाक लगाएका र ढाल तथा लाठी बोकेका प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न खुर्सानीको धुलोयुक्त गोला, अश्रुग्यास र स्टन ग्रिनेड प्रयोग गरेका थिए ।
शनिबार ट्रम्पले सहरमा थप टकराव बढाउने गरी लस एन्जलस काउन्टीमा प्रदर्शनकारीलाई दबाउन कम्तीमा दुई हजार नेसनल गार्ड तैनाथ गर्न आदेश दिए । अमेरिकामा ‘नेसनल गार्ड’ राज्यको नियन्त्रणमा रहने सैन्य बल हो, जुन आवश्यक पर्दा संघीय मिसनमा तैनाथ गर्न सकिन्छ । ट्रम्पले नेसनल गार्ड तैनाथीको घोषणा गर्दा अध्यागमन अधिकारीको काममा अवरोध पुर्याउने सबै प्रकारका प्रदर्शनलाई राज्यविरुद्धको ‘विद्रोह’ मानिने बताएका छन् ।
ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरले ट्रम्पकै भनाइलाई जोड दिँदै लस एन्जलसमा जारी विरोध प्रदर्शनलाई ‘विद्रोह’को संज्ञा दिए । त्यस्तै शनिबार साँझ अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले हाल ड्युटीमा रहेका नौसेना परिचालन गर्नेसम्मको धम्की दिएका छन् । ‘आइसिई र संघीय कानुन प्रवर्तनमाथि हिंसात्मक भिडको आक्रमण गरेको छ । यो आक्रमण हाम्रो भूमिबाट आपराधिक क्रियाकलापमा संलग्न अवैध आप्रवासीलाई निकाल्न रोक्ने उद्देश्यले गरिएको छ । यो आपराधिक कार्टेलको (उर्फ विदेशी आतंकवादी संगठनहरू) सहयोगमा भइरहेको खतरनाक आक्रमणम र एक ठुलो राष्ट्रिय सुरक्षा जोखिम हो । राष्ट्रपति ट्रम्पको नेतृत्वमा संघीय एजेन्टहरू र संघीय सुविधाविरुद्ध हिंसा र विनाश सहन गरिनेछैन,’ हेगसेथले भने ।
अहिले लस एन्जलस सहर र त्यसअघिका केही घटनामा जे भयो, त्यो खासमा ट्रम्पको प्रहरी राज्यको पहिलो चरणमा हुने क्रियाकलाप हो । गत हप्ता सान डिएगो, त्यसअघि मार्थाको अंगुरबारी र त्योभन्दा पहिले वर्कसायरमा भएका छापाको विरोध भएका थिए । त्यहाँ आममानिसले आप्रवासी कामदारलाई हिरासतमा लिने संघीय एजेन्टविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।
ट्रम्पको जालमा संघीय अदालतसमेत समावेश भएका छन् । आइसिई अधिकारी अमेरिकाभरका अदालतबाहिर तैनाथ भइरहेका छन् । तिनले न्यायाधीशहरूले सुरक्षा दिएका आप्रवासीलाई समेत तुरुन्तै पक्राउ गरिरहेका छन् । इतिहासले देखाउँछ कि अधिनायकवादी शासकले एकपटक प्रहरी राज्यको पूर्वाधार स्थापना गरिसकेपछि उक्त पूर्वाधार जोकोहीमाथि पनि आइलाग्न सक्छ ।
ट्रम्प प्रशासनले निम्न पाँच चरणमा द्रुत गतिमा पूर्वाधार सिर्जना गर्दै छन् :
(१) तथाकथित ‘विद्रोह’, ‘राज्य विप्लव’ वा ‘बाह्य आक्रमण’ भन्दै आपत्काल घोषणा गर्ने ।
(२) यही ‘आपत्काल’लाई प्रयोग गरेर देशभित्रका नागरिकविरुद्ध संघीय एजेन्ट (आइसिई, एफबिआई, सडइए र नेसनल गार्ड) प्रयोग गर्ने बाटो खोल्ने ।
(३) उल्लिखित सैन्यीकृत संघीय एजेन्टहरूलाई मानिसको अपहरण र वारेन्टविना गिरफ्तारी गर्न अनुमति दिने र उचित कानुनी प्रक्रियाविना मानिसलाई हिरासतमा राख्न दिने ।
(४) पक्राउमा परेकाहरूलाई राख्न जेल र हिरासत शिविरहरू विस्तार गर्ने ।
(५) अन्ततः परिस्थिति बिग्रिँदै गएपछि सैन्य कानुन (मार्सल ल) घोषणा गर्ने ।
अहिलेसम्म सैन्य कानुन लागू भइसकेको छैन, त्यो राहतको कुरा होला । तर, एकपटक लागू भइसकेपछि, प्रहरी राज्यको पूर्वाधार आफैँ फैलिँदै जान सक्छ । प्रहरी राज्य लागू गर्ने अधिकार पाएका अधिकारीहरू तथा पूर्वाधारहरूले (आन्तरिक मिलिसिया, ड्र्यागनेट, हिरासत शिविरहरू र मार्सल ल) आफ्नो अधिकार प्रयोग गर्न विभिन्न अवसर खोज्छन् । बिस्तारै नागरिक नियन्त्रणले सैन्य नियन्त्रणको बाटो लिन थालेपछि राष्ट्र यसको पक्ष र विपक्षमा विभाजित हुनेछ । तानाशाहीले यस ध्रुवीकृत दुवै पक्षमा डर र क्रोध जगाएर आफूलाई स्थापित गर्छन् । अहिलेसम्म, ट्रम्पको प्रहरी राज्यविरुद्ध बलियो प्रतिरोध भनेको अमेरिकाको संघीय अदालत र बृहत्तर शान्तिपूर्ण विरोध मात्र हुन् ।
यसै परिप्रेक्ष्यमा आगामी शनिबार प्रदर्शन आयोजना गरिँदै छ । प्रतिरोध अत्यावश्यक छ । यो शान्तिपूर्ण रहोस् भन्नेमा प्रदर्शनकारी सचेत हुनुपर्छ । अमेरिकीले यो अत्याचारविरुद्ध उभिने संकल्प प्रदर्शन गर्नुपर्छ । अमेरिकीलाई ट्रम्पको प्रहरी राज्यको उदाउँदों पूर्वाधार र यसको प्रतिरोधको महत्वबारे जानकारी गराउनैपर्छ ।
गार्जियनबाट