
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो । सांसदहरूले आफ्ना प्रश्न अग्रिम बुझाइसकेका थिए । प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न सांसदहरू तयारीका साथ संसद् भवन पनि पुगिसकेका थिए ।
तर, संसद् सुरु हुनै लाग्दा ओलीले बालुवाटारबाट सूचना पठाए– स्वास्थ्य ठिक भएन, आउन नसक्ने भएँ । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो ।
तर, अस्वस्थ रहेको भन्दै संसद्मा अनुपस्थित प्रधानमन्त्री ओली त्यहीवेला बालुवाटारमा सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्तामा व्यस्त रहे । गभर्नर नियुक्तिमा बढेको असमझदारी टुंग्याउन ओली–देउवा वार्तामा बसेका थिए । गभर्नरको विवाद टुंग्याएपछि प्रधानमन्त्रीले डा. विश्व पौडेललाई नियुक्त गर्न साँझ बालुवाटारमै मन्त्रिपरिषद् बैठक राखे ।