
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेका छन्। २१ चैतमा आफूलाई कार्यालय प्रवेशमा रोकेको विषयलाई लिएर गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेसँग लिखित जवाफ माग गरेका हुन्।
उक्त दिन गुरागाईं केही कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यकक्षको ढोका फोरेर प्रवेश गरेका थिए। स्पष्टीकरणको लागि पाण्डेलाई एक साताको समय दिइएको छ। पत्रमा पाण्डेलाई कारबाही गर्न नपर्ने कारणसमेत खुलाउन भनिएको छ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कर्मचारीको आदेश, कार्यालयको अनुशासन पालना नगरेको, जनप्रतिनिधिसँग रुखो व्यवहार गरेको, कार्यालय प्रवेशमा रोक लगाएको, झगडा उत्पन्न गराउने गरी काम गरेकोलगायत विषयमा प्रश्न सोधका छन्।
नगर प्रहरी प्रमुख पाण्डेले भने आफूलाई उक्त दिन प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउनेबारे जानकारी नभएको र सयौँको संख्यामा मानिसहरू छिरेर हुलहुज्जत हुने देखिएपछि सुरक्षा कायम गरिएको बताएका छन्।
‘प्रमुख प्रशासकीय आउने सूचना मलाई थाहै थिएन। एकाएक त्यहाँ सयौँको संख्यामा मानिसहरू आए, त्यस्तो वेलामा कार्यालयको सुरक्षा गर्नु मेरो दायित्व थियो। उहाँको गाडीको ह्विल लक गरेर खोलेको पनि हो,’ पाण्डेले भने, ‘कार्यालयमा दुरुपयोग नहोस्, सुरक्षा होस् भनेर त्यसो गरेको हो।’
काठमाडौं भ्युटावर निर्माणको नक्सापासमा बदनियत देखिएको भन्दै मेयर सचिवालयले गुरागाईंमाथि प्रश्न उठाएको थियो। तर, केन्द्र सरकारको निर्देशनमा गुरागाईं कार्यालय छिरेका थिए।