
भाजपा नेता विजय जोलीले नेपाल र भारतबीच थाती रहेका मुद्दा संवादमार्फत् समाधान हुने बताएका छन् । सोमवार इन्स्टीच्युट फर पब्लिक पोलिसी एण्ड पार्टनरसिप नामक चिन्तन संस्थाद्वारा आयोजित कार्यक्रममा उनले नेपालको अन्य देशहरुसँग सम्बन्धप्रति भारत चिन्तित नभएकोसमेत बताए ।
‘नेपाल र भारतबीचका समस्याहरु वार्ता र समझदारीबाट चाँडै समाधान होस् भन्ने चाहन्छौँ र म यसमा विश्वस्त पनि छु’ जोलीले भने, ‘दुई छिमेकी मुलुकहरुबीच समस्या हुनु अस्वभाविक होइन । संवादमार्फत् समाधान नहुने बिषय छैनन् ।’ जोली निजि भ्रमणका क्रममा हाल काठमाडौंमा छन् । भाजपाको विदेश मामिला विभागका पूर्व उपप्रमुख रहेका जोली हाल दिल्ली स्टडी ग्रुप नामक चिन्तन संस्थाका अध्यक्ष हुन् ।
जोलीले नेपाल धर्मनिरपेक्ष रहने वा हिन्दु राष्ट्र हुनेबारे भारतको कुनै टिकाटिप्पणि नहुने उनको भनाई थियो । ‘यो नेपालका राजनीतिक दल र नेपाली जनताले तय गर्ने बिषय हो । र, यो नितान्त नेपालको आन्तरिक मामिला हो भन्नेमा हामी स्पष्ट छौँ’ जोलीले भने । उनले नेपालको भातबाहेकका देशहरुसँगको समबन्ध भारतका लागि कुनै खतराको बिषय नहुने पनि बताए ।
‘नेपालले कुन विदेशी मुलुकसँग सम्बन्ध राख्छ भन्ने कुराले भारतलाई कुनै खतरा हुँदैन । भारत आफूलाई सम्हाल्न सक्षम छ’ जोलीले भने । भारतको सुरक्षामा खटिएका ३२ हजार नेपाली गोर्खा सैनिकप्रति भारतमा उच्च सम्मान रहेको पनि उनको भनाई थियो ।
अर्को प्रसंगमा जोलीले पाकिस्तानसँग भारतले युद्ध नचाहेको तर आतंकवादी निसानामा हमला गरेको पनि बताए । ‘नेपाली र हाम्रा नागरिकमाथि हमला गरेपछि आतंककारी निसानामा हमला गर्नुपर्ने बाध्यता थियो, त्यो भारतको रहर थिएन’ जोलीले भने । अर्को प्रसंगमा जोलीले सार्क भंग भएसरह भएको पनि टिप्पणि गरे ।
कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री डा मिनेन्द्र रिजालले भारतसँग नेपालको स्वभाविक गुनासो हुँदै आएको उल्लेख गर्दै ऊर्जा र पानीको सम्बन्ध थप विकसित गर्नुपर्नेमा जोड दिए । नेपाली नेताहरुले भारतको स्वतन्त्रताका लागि जेल बसेको, भारतका लागि नेपालीहरुले रगत बगाएको नभुल्न उनले भारतलाई अनुरोध गरे ।
‘नेपालको भारतसँग रहेको सम्बन्ध कुनै पनि देशसँगको सम्बन्धले प्रतिस्थापन हुँदैन । नेपाल र भारतबीच मित्रताको उदाहरण विश्वमा अन्य छैन’, रिजालले भने, ‘नेपालले भारतसँग सरकारको निरन्तरताका लागि मात्र वार्ता गर्नु हुँदैन । सरकारमा नरहेकाहरुले सरकार बनाउन र सरकारमा रहेकाहरुले यसको निरन्तरताका लागि भारतसँग सम्बन्ध सञ्चालन गर्नु दुवै देशको हितमा हुँदैन ।’
पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपि साउद, रास्वपा नेताद्धय शिशिर खनाल र सन्तोष परियार, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा मुकेशराज काफ्ले, ईन्जिनियर धु्रब थापा लगायतले नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक, सांस्कृतिक, जलश्रोत सहकार्यका बिषयमा धारणा राखेका थिए ।