
सत्तारूढ दुई दलबिच गभर्नर नियुक्तिको रस्साकस्सी चलिरहेका वेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच हुने भनिएको भेटवार्तासमेत स्थगित भएको छ । मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओली र देउवाबिच भेटवार्ता तय गरिएको थियो । देउवा बालुवाटार गएनन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गभर्नर नियुक्तिमा भएको ढिलाइबारे आश्चर्य प्रकट गरे । ‘गभर्नर नियुक्तिमा भएको ढिलाइ आश्चर्यजनक छ । यसरी ढिला गर्ने विषय होइन यो,’ उनले भने । ओली–देउवा भेटवार्ता स्थगित हुनुको कारणबारे उनले अनभिज्ञता प्रकट गरे ।
कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले प्राविधिक कारणले ओली–देउवा भेटवार्ता रोकिएको बताए । उनले एक–दुई दिनमै गभर्नर नियुक्त हुने पनि दाबी गरे । ‘गभर्नर नियुक्ति एक–दुई दिनमा हुन्छ होला । आजको छलफल केही कारण परेर रोकियो होला,’ उनले भने । प्रधानमन्त्रीको सचिवालयले भने ओली अस्वस्थ भएका कारण भेटवार्ता स्थगित भएको जनाएको छ ।
ओली–देउवा भेटका साथै मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको ओलीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ओलीलाई रुघाखोकीको समस्या देखिएको छ । गभर्नर नियुक्तिलगायतका विषयमा ओली–देउवाबिच छलफलको तयारी रहेको बताइएको थियो ।