
इजरायली हमलामा गाजामा १२५ जनाको मृत्यु भएको छ । इजरायली सेनाले शनिबार रातभर र आइतबार गरेका हमलामा गाजामा सो संख्यामा मानिसहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ जना बालबालिका र १३ महिला रहेका छन् । हमलामा दर्जनौँ घाइते भएका अस्पताल र चिकित्सकहरूले बताएका छन् ।
इजरायलले डेढ वर्षपछि गाजामा युद्ध चर्काएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४५ जनाभन्दा बढी मारिएका थिए । इजरायली सेनाले विस्थापित बसोवास गरिरहेका शिविर र घरलाई निसाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।
इजरायली सेनाले उत्तरी गाजामा रहेको जबालिया शरणार्थी शिविरमा हमला गर्दा एउटै परिवारका नौजनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । त्यस्तै, जबालियास्थित अकोए निवासमा भएको आक्रमणमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ । इजरायली सेनाले रातभरि भएका हमला र त्यहाँ भएका गैरसैनिकको मृत्युबारे कुनै टिप्पणी गरेको छैन ।