१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
२o८२ जेठ ५ सोमबार १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १५:o६:oo

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुन सक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा दुईवटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका काम भएका छन् । गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ससाना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए । यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ ।
 
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरूमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए । उनले भने, ‘यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ ।’ पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनी बताउँछन् ।

कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, एक्स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उनले जानकारी दिए । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।


प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउनका लागि आवश्यक तयारी गरिएको बताए । उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरूको बिचमा यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको छ । गत वर्षको असार २८ गते दुईवटा रात्रिबस बगाउँदा ६२ जना हाराहारीलाई बगाएको थियो । तीमध्ये कतिपय अझै बेपत्ता छन् । ती दुई बससमेत फेला परेका छैनन् । रासस